धरान : पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण धम्की आएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न नेपाल पत्रकार महासङ्घले मङ्गलवार मिडिया मिसन खटाएको छ ।
महासङ्घका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा गठित मिडिया मिशनमा केन्द्रीय सदस्य शङ्कर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासङ्घ कोशी प्रदेश समिति अध्यक्ष भरतबहादुर खड्का र महासङ्घ सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन् ।
मिसनले पत्रकार दाहाललाई आएको धम्कीका बारेमा स्थलगत अध्ययन गरी ७ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्ने समयावधि दिइएको छ । महासङ्घको नवनिर्वाचित कार्यसमितिले पद बहाल गरेपछि बसेको पहिलो बैठकले मिडिया मिसन खटाउने निर्णय गरेको हो ।
पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रका लागि लेखेको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सम्बन्धी समाचार ‘हिमाल खबर’मा प्रकाशित भएपछि नगर प्रमुखले सामाजिक सञ्जालमा धम्कीको भाषामा गाली गलौज गरेका थिए ।
सोही विषयलाई लिएर पछिल्लो पटक पत्रकार दाहाललाई नगर प्रमुख साम्पाङका समर्थकले म्यासेञ्जर मार्फत व्यक्तिगत रूपमा ज्यानको धम्की दिएको थियो ।
यसअघि पत्रकार महासङ्घको पहलमा पत्रकार दाहाल र पत्रकार महासङ्घका निवर्तमान सभापति जनकऋषि राईले इलाका प्रहरी कार्यालयमा शान्ति सुरक्षाका लागि निवेदन दिएका थिए ।