धरान : अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्या कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा १२औँ भेडेटार फुड फेस्टिभल आयोजना हुने भएको छ ।
अङ्ग्रेजी संवत् २०२४ को अन्तिम दिन डिसेम्बर ३१, पुष १६, १७ र १८ गते ३ दिन फुड फेस्टिभल आयोजना हुने मङ्गलवार पत्रकार सम्मेलनमा होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।
फुड फेस्टिभल साँगुरीगढी-६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म रहने अध्यक्ष लिम्बुले बताए । ३ दिने फेस्टिबलमा २ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
फेस्टिभलमा ५० हजारको सङ्ख्यामा आन्तरिक/बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । अध्यक्ष लिम्बुले भने ‘फेस्टिभलमा परम्परागत अर्ग्यानिक र जातीय परिकारको आकर्षण रहन्छ नै साथमा साँगुरीगढी क्षेत्रको कृषि तथा घरेलु उत्पादनलाई बजारीकरण गर्ने तयारी गरिएको छ ।’
होटेल एसोसिएसनका पूर्व अध्यक्ष, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले फेस्टिभल भेडेटारको प्राकृतिक सौन्दर्यता मात्र नभई साँगुरीगढी क्षेत्रकै ग्रामीण कृषि पर्यटनको प्रवद्र्धमा केन्द्रित गरिएको बताए ।
गाउँपालिकाले सागुरीगढी र भेडेटारको दीर्घकालीन विकास गर्न भेडेटार सहित साँगुरीगढीलाई स्पट टुरिजम एरियाको रूपमा विकास गर्ने लक्ष्य राखेको बताए ।
उनका अनुसार सागुँरीगढी कृषिमा आधारित गाउँपालिका भएकोले ग्रामीण कृषिलाई प्रोत्साहित गर्न फेस्टिभलमा उत्कृष्ट कृषकहरूलाई सम्मानित गरिने छ ।
अध्यक्ष रुम्दालीले भने ‘ग्रामीण पर्यटन र कृषि, घरेलु उत्पादनको प्रवर्द्धन गर्न गाउँपालिकाले सागुरीगढी क्षेत्रलाई यातायातको पहुँचमा पुर्याउन रिङ रोडको योजना अघि सारेको छ ।’
फेस्टिभलबाट साँगुरीगढीको स्थानीय कृषि तथा साना घरेलु उत्पादनहरूको बजारीकरणमा सघाउ पुग्दै आएको छ । साना होटेल रेस्टुरेन्ट मार्फत गाउँले व्यवसायीले प्रत्यक्ष लाभ पाउँदै आएको अध्यक्ष रुम्दालीले बताए ।
अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिनमा भारतीय पर्यटकहरूको पनि भेडेटारमा ठुलो जमघट हुनेछ । भारतीय पर्यटकहरूलाई लक्षित गर्दे ३ दिनको फेस्टिभल प्याकेजको समेत व्यवस्था गरिएको छ ।
फेस्टिभलमा मुख्य पर्यटकीय स्थलहरू शैलुङ्ग डाँडा चाल्र्स भ्यु टावर स्काई ब्रिज, पाथीभरा मन्दिर, शंखेश्वर, भेडेटार पार्क, आत्मा बस्ने घर, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङ उडान स्थल, ध्वजे डाँडा, ओख्रे भ्यु टावर रहने छन् ।
यस्तै नमस्ते झरना,साँगुरी गढी, नाम्जे गाउँ होमस्टे, अजङको बरको रुख, थाउजेन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ्ग त्रिवेणी ध्वजे पदमार्ग, झण्डीडाँडा गालखाडी र भेडेटार आसपासका ऐतिहासिक साँगुरीगढी पर्यटकहरूका लागि आकर्षणको स्थल हुने बताइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
                
        
        
















        
        
















































