धरान : विष्णुपादुका, धरान-२० चिण्डे डाँडा नजिक रहेको सेछ एडभेञ्चर पार्कले पूर्वको पर्यटकीय स्थलमा पहिलो पटक ‘एडभेञ्चर‘ डेकेशन प्याकेज’ सार्वजनिक गरेको छ । प्याकेजको सुविधा पाएपछि पार्कमा विद्यार्थीहरूको घुइँचो लागेको छ ।
कोशी प्रदेशमा पहिलो र एक मात्र पर्यटकीय एडभेञ्चर पार्क सेछले स्थापनाको पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा ‘डेकेशन प्याकेज’ ल्याएको हो ।
पार्कका निर्देशक बासुदेव बरालले स्कुल र कलेजलाई लक्षित गर्दे पार्कले डेकेशन प्याकेज ल्याएको बताए । उनले भने ‘पूर्वको पर्यटनलाई आकर्षण गर्न नयाँ अवधारणको रूपमा पूर्वको पर्यटनलाई बढाउन डेकेशन प्याकेज ल्याएका छौँ ।’
डेकेशन प्याकेजमा दिनभर गरिने रमाइलो क्रियाकलापमा आगन्तुकले लिने रिफ्रेशमेन्टमा छुट पाइन्छ । विद्यार्थीहरूलाई लक्षित डेकेशन प्याकेजमा आउँदा जाँदा २ पटक ४५-४५ मिनेटको हाइकिङ, स्काई साइकल र जिप लाइन एक्टिभिटी, ब्रेकफास्ट, लञ्च र नाचगान सहितको कार्यक्रम गरिने छ ।
प्याकेज प्रति विद्यार्थी १२ सय रुपैयाँमा उपलब्ध छ । निर्देशक बरालका अनुसार कलेज र स्कुलमा विद्यार्थीहरू प्रत्येक वर्ष पिकनिक जाने चलन छ । त्यही चलन लाई एडभान्स गर्दे एडभेञ्चर सहित ग्रुपमा गरिने क्रियाकलापलाई डेकेशन प्याकेज बनाइएको हो ।
प्याकेज सँगै पार्कमा विद्यार्थीहरूको आकर्षण बढेकोले खुसी लागेको उनले बताए । विद्यार्थीहरूको बढ्दो आकर्षणले पार्कलाई केही राहत मिल्ने बरालले आशा व्यक्त गरे ।
कोरोनासँगै आएको आर्थिक मन्दी र बाटोको समस्याले थलिएको पार्कमा ‘ डेकेशन प्याकेज’ ल्याएपछि पूर्वका विभिन्न स्कुल कलेजका बिद्यार्थीहरुको आकर्षण बढेको हो ।
धरानलाई पूर्वको पर्यटनको हब बनाउन ‘सेछ’ले १४ वर्ष देखी पर्यटकीय गतिविधिहरू गर्दै आएको छ । पर्यटन बजारमा सेछलाई स्थापित गराउन ठुलो लगानी सहित मेहनत र नयाँ साहसिक खेलहरू पार्क स्थलमा स्थापना गरिएको छ ।
विष्णुपादुका चिण्डे डाँडा पूर्वतिर स्थित पार्कमा एकै ठाउँमा स्काई साइकल, जीपलाईन, हेङ्गिङ ब्रीज, ३६० डिग्री साइकल, रसियन सर्कल लगायतका साहसिक खेलहरू सञ्चालनमा छन् ।
हाइकिङ गर्न नचाहनेहरूका लागि गाडीको पनि व्यवस्था हुनेछ । अन्य आवश्यक सुविधाहरू पार्कमै उपलब्ध हुनेछन् ।
सेछ एडभेञ्चर पार्कले सेछ हस्पिटालिटीका नाममा एकीकृत प्रवर्धन र बजारीकरण गरिरहेको र सेछको पर्यटन कार्यक्रम पछिल्ला समयमा आएर पूर्वको पर्यटनमा ब्राण्ड बनेको बरालले दाबी गरे ।
प्याकेजमा रमाउँदै विद्यार्थीहरू :
पार्कमा बुधवार नेपाल बिजनेश कलेज विराटनगरका २ सय विद्यार्थीहरू रमाइरहेका थिए । उनीहरू मध्ये कोही हाइकिङ गर्दा दुखेका खुट्टाहरू सुम्सुमाउदै भए पनि स्काई साईकिलिङ र जीपलाईन सँगै पहाडको मनमोहक दृश्यसँगै रमाउँदै थिए  ।
बिबिए ६ सेमेष्टर अध्ययनरत छात्रा मनिषा मेहताले भनिन् ‘हिँडेर आउँदा खुट्टा दुखेर हैरान भयो, बेकार आए जस्तो लाग्यो तर आएपछि जीवनमा पहिलो पट्क स्काई साईकिलिङ, जीपलाईन गर्न पाए खुसी लाग्यो ।’
पहाडी मनमोहक सुन्दरता देख्दा आनन्द महसुस भएको उनले बताइन् । हरियाली पहाडको हावा चिसो मौसमले विद्यार्थीहरू ज्यादै खुसी भए । उनीहरूले पिकनिकमा भन्दा धेरै रमाइलो भएको बताए ।
बिबिए तेस्रो सेमिस्टरका डेनिश खान साह्रै खुसी थिए । भने ‘म तँ कहिले पनि यति राम्रो ठाउँ आएको थिइन, पिकनिक स्पोर्टमा एडभेञ्चरले साह्रै रमाइलो लाग्यो ।’
बिबिए प्रोग्राम कोडिनेटर पिङ्की शर्माले भनिन् ‘साह्रै राम्रो ठाउँ रहेछ, अर्को पटक पनि विद्यार्थीहरू लिएर यहीँ आउँछु ।’ विद्यार्थीहरू लिएर पूर्वका थुप्रै ठाउँ पुगे पनि यहाँ विद्यार्थीहरूले सबै भन्दा धेरै रमाइलो अनुभव गरेको उनले बताइन् ।
यो पटक २ सय विद्यार्थी लिएर आएको बताउँदै शर्माले अर्को पटक पनि स्कुललाई पनि यहीँ जानु पर्छ भन्ने बताइन् । सेछ हस्पिटालिटी सेवा सुविधा सेछ पार्क एकदमै रमणीय स्थल, सुन्दर शान्त समेत लागेको उनको भनाई छ ।


        
                    
        
                                        
                                                                                                
        
                
                
        
        
















        
        
















































