पाँचथर : पाँचथरको फिदिममा आयोजित एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जीतेको छ ।

पाँचथरको फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा चीर प्रतिद्वन्द्वी मच्छिन्द्र फुटबल क्लबलाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाई ब्रेकरमा चर्च ब्वाइजका एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।

मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, शनिस श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गर्दा दयानन्द इलाङबाङको प्रहार चर्च ब्वाइजका कृशल मोक्तानले रोक्न सफल भए । कृशलको त्यही बचाउ चर्च ब्वाइजलाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

यसअघि मच्छिन्द्रले निर्धारित समयको अन्तिम दुई मिनेटमा अग्रता जोगाउन नसक्दा खेल टाई ब्रेकरमा धकेलिएको थियो । खेलको ४५औँ मिनेटमा मच्छिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । ७८ औँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा रोके ।

पुनः ८८ औँ मिनेटमा शनिष श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समीर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मच्छिन्द्र समग्र प्रतियोगितामै उपविजेतामा सीमित बन्न पुगेको हो ।

उपाधिसँगै चर्च ब्वाइजले रु. १० लाख ५५५ पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको मच्छिन्द्रले रु. पाँच लाख ५५५ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको मुख्य प्रवर्द्धक फिदिम नगरपालिका रहेको थियो । उपाधि विजेता टोलीलाई नगर प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइज फुटबल क्लबका समीर तामाङ घोषित हुँदै विद्युतीय स्कुटर प्राप्त गरे । प्रतियोगितामा पाँच गोल गरेका तामाङ सर्वाधिक गोलकर्ता समेत बनेर रु. १५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मच्छिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै रु. १० हजारका दरले पुरस्कार प्राप्त गरे । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित भए ।