धरान : अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागत २०२४ लाई बिदाइ गर्दै पूर्वको पर्यटकीय नगरी भेडेटारमा १२ औँ फुड फेस्टिभल मङ्गलवार देखी सुरु भएको छ । होटेल एसोसिएसन भेडेटारको आयोजनामा ३ दिने फुड फेस्टिभल साँगुरी गाउँपालिका-६ भेडेटारमा सुरु भएको हो ।
फेस्टिभलको उद्घाटन प्रमुख अतिथि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मन्डलले गरे । उनले प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष सफल पार्न सबै आफ्नो ठाउँबाट लाग्नु पर्नेमा समेत जोड दिए ।
विश्वको घुम्नै पर्ने १२ औ गन्तव्य भेडेटार रहेको र पूर्वको रिफ्रेसमेन्ट सेन्टर समेत बनेकाले भेडेटारलाई स्पोर्टस टुरिजमको रूपमा विकास गर्न प्रदेश सरकार लागिपरेको उनले बताए ।
समारोहमा राई जातीको साकेला, लिम्बुको च्याब्रुङ, केलुङ नाच, मगरले हुर्रा र याम्फुले गेलाङ प्रदर्शन गरिएको थियो ।
फेस्टिभलमा स्थानीय परिकार, कृषि प्रदर्शनी मेला, घरेलु उत्पादन प्रमुख आकर्षण छन् । कृषि प्रदर्शनी मेलामा साँगुरी गढी र आसपासमा उत्पादित उत्कृष्ट फलफूल, तराकारी तथा खाद्यान्न रहेका छन् । ५० भन्दा बढी स्टलहरू राखिएका छन् । समारोह स्थलमा कृषि उत्पादनलाई प्रवर्द्धन गर्दे १० केजीको फर्सी र करिब ३ फुट अग्लो सागको बोटका राखिएको छ ।
पर्यटकहरूले फुड फेस्टिभलको पहिलो दिन भेडेटार आसपास रहेका स्काई ब्रिज, नमस्ते झरना, साँगुरीगढी अवलोकन गरेर भेडेटार र नाम्जेमा बास बस्ने छन् । पहिलो दिन उक्त प्याकेजको २ हजार ५०० शुल्क लाग्नेछ ।
महोत्सवको दोस्रो दिन ध्वजे डाँडाबाट सूर्योदय अवलोकन, एशियाको दोस्रो ठुलो दाबी गरिएको अजंगको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन गरेर नाम्जे र डाँडा बजारको होमस्टेमा रहनेछन् । दोस्रो दिन उक्त प्याकेजको २ हजार ५०० शुल्क लाग्नेछ ।
तेस्रो दिन तमोर रिभर राफ्टीङ र प्याराग्लाइडिङ गर्नेले भेडेटारमा बास र खाना सक्नेछन् तेस्रो दिन उक्त प्याकेजको ४ हजार र ८ हजार शुल्क लाग्ने होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।
फेस्टिभलमा ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने २ करोड भन्दा बढीको कारोबार गरिने लक्ष्य राखिएको छ ।
भेडेटारको १२औँ फुड फेस्टिभल महोत्सव समारोहमा दुई पत्रकार सम्मानित भएका छन् । सम्मानितमा धरानका पत्रकार गोविन्द बस्नेत, धनकुटाका पत्रकार विनोद घिमिरे छन् । उनीहरूलाई नगद ५/५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरियो ।