झापा : वैदेशिक रोजगारीका लागि कतार, मलेसिया लगायत ठाउँमा लामो समय बिताएर फर्किएका दमक-३ का ३७ वर्षीय यमकान्त गौतमले स्वदेशमै आफ्नो सीप उपयोग गर्दै व्यावसायिक सफलता हासिल गरेका छन् । उर्लाबारी-७ स्थित नाइट काउन्टरको छेउमा तीन वर्षअघि स्थापना गरेको "द ड्रीम हेण्डसम पार्लर" अहिले ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ ।

विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्ने अठोटसहित गौतमले पार्लर व्यवसाय सुरु गरे। प्रारम्भमा यो पेसालाई परिवारले रुचि नदिए पनि   सफलता पछि अहिले सबैको साथ पाएका छन् । गौतम भन्छन्, “सुरुका दिनमा केही असहज थियो, ब्राह्मणको छोराले यस्तो के गरेको भनेर गिज्याउँथे तर अहिले परिवार र समाज दुवैले मेरो मेहनतलाई स्वीकार गरेका छन्।”

पार्लरमा कपाल काट्ने शुल्क  १०० रुपैयाँ राखिएको छ, जसले स्थानीयवासीलाई गुणस्तरीय सेवा उपलब्ध गराइरहेको छ। सस्तो र उत्कृष्ट सेवाका कारण पार्लरमा दैनिक दर्जनौँ ग्राहक आउने गरेका छन्।

कतार र मलेसिया लगायतका ठाउँमा काम गर्दा सिकेको सीप र  ज्ञानलाई गौतमले नेपालमै उपयोग गरेका छन्। उनका अनुसार, दैनिक ४० देखि ५० जनाको कपाल काट्दै आएका छन् ।

गौतमको यो व्यवसायले केवल उनलाई मात्र होइन, स्थानीय युवा रोजगारलाई समेत सकारात्मक प्रभाव पारेको छ। उनले आफ्नो पार्लरमा आफ्ना भाइलाई समेत  रोजगारी प्रदान गरेका छन् भने सीप सिक्न चाहनेहरूका लागी आफूहरूसँग आउन आव्हान समेत गरेका छन् ।

"द ड्रीम हेण्डसम पार्लर" अहिले उर्लाबारी र आसपासका क्षेत्रका मानिसहरूको प्राथमिक रोजाइ बन्दै गएको छ। भविष्यमा पार्लरको सेवा विस्तार गर्ने र थप नयाँ सेवाहरू थप्ने योजना गौतमले बनाएका छन् ।

गौतमको सफलताले विदेश जाने सोच बनाएका युवाहरूलाई स्वदेशमै केही नयाँ र उपयोगी काम गर्न प्रेरित गरेको छ। उनले देखाएको बाटोले धेरैलाई वैदेशिक रोजगारीको विकल्प खोज्न मद्दत गरेको छ।

सस्तो र गुणस्तरीय सेवा, परिश्रम, र इमानदारीले गौतमको यो व्यवसायलाई अझ उचाइमा पुर्‍याउने देखिन्छ।