धरान : ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केबलकारको विषयलाई लिएर चलिरहेको विवादका बिच पछिल्लो पटक जबरजस्ती डोजर चलाएकोमा विरोध गर्दै तत्काल नरोकिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।
‘सङ्घर्षरत पक्षसँग सहमति नभई कुनै कार्य अगाडि नबढाउने यस अघि भएका सम्झौतालाई तोड्दै सुरक्षा निकायको आडमा डोजर चलाउन सुरु गरेको’ भन्दै किरात याक्थुङ चुम्लुङ सङ्घीय समितिले मङ्गलवार विज्ञप्ति मार्फत सशक्त आन्दोलनको चेतावनी दिएको हो ।
केबलकारको विषयलाई लिएर उक्त क्षेत्रमा स्थानिय समुदाय र सुरक्षाकर्मी बिच पटक पटक झडप भएको छ । राज्य पक्षले वार्ताद्वारा विवादको निकास खोजेको देखिन्न । सरोकारवाला स्थानीयसँग वार्ता नगर्ने सरकारी नीतिको लाभ उठाउँदै सुरक्षाकर्मी प्रयोग गरेर ठेकेदार कम्पनीले बन फडानी गर्ने कार्य गर्दा झडप हुँदै आएको छ ।
वक्तव्यमा मुक्कुमलुङ पाथीभरा मन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र आस्थाको स्थल भएको उल्लेख गर्दै त्यसको रक्षाका माग सहित सङ्घर्ष चलिरहेको स्पष्ट गरिएको छ । भनिएको छ ‘निजी कम्पनीले जबरजस्ती मुक्कुमलुङ क्षेत्रमा फेरी डोजर चलाउन सुरु गरेको छ ।’
डोजर चलाउन थालेको निन्दनीय कार्य तुरुन्त बन्द नगरे हामी सशक्त आन्दोलनमा उत्र बाध्य हुने जानकारी गराउँदै त्यो अवस्थामा सिर्जना हुने सबै खाले क्षतिको जिम्मेवारी राज्य पक्ष र केबलकार कम्पनी आफैले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।