धरान : ताप्लेजुङको मुक्कुमलुङ पाथीभरा क्षेत्रमा प्रहरीले गोली हानेको मानव अधिकार आयोग केन्द्रीय कार्यालयले पुष्टि गर्दै संवादबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा ‘प्रहरीको गोली लागी घाइते भएका सगुन लावती, यामबहादुर लिम्बू र धर्मन पालुङको अवस्था गम्भीर’ रहेको उल्लेख गर्दै उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको बताइएको छ ।
अन्य २ जना घाइते प्रदर्शनकारीको ताप्लेजुङ अस्पतालमा उपचार गरी डिस्चार्ज गरिएको र अन्यको अवस्था सामान्य रहेको अनुगमनको क्रममा पाईएको उल्लेख छ । ७ जना घाइते प्रहरीको ताप्लेजुङ अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा छ ।
आयोगको वक्तव्यमा भनिएको छ ‘आदिवासी जनजातिको बसोबास रहेका कुनै पनि क्षेत्रमा विकास निर्माणका कार्य गर्दा समुदायबाट अग्रिम जानकारी सहितको स्वतन्त्र, सुसूचित सहमति लिनुपर्ने भन्ने आदिवासी जनजातिको अधिकार सम्बन्धी आइएलऔ महासन्धि १६९ तथा संयुक्त राष्ट्रसङ्घीय आदिवासी जनजातिको अधिकार सम्बन्धी घोषणापत्र २००७ मा व्यवस्था रहेको छ ।’
विकास निर्माणको क्रममा आउन सक्ने यस प्रकारका असहमति र विवादको समयमै पहिचान र सम्बोधन गर्न, विकासमा मानव अधिकारमुखी पद्धतिको अवलम्बन गर्न, संवादको माध्यमबाट समाधान गर्न नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोगले आग्रह गरेको छ ।