धरान : मुक्कमलुङ पाथीभरामा केबलकार निर्माण सम्बन्धी विवादमा शनिवार साँझ गोली प्रहारको विरोधमा सोमवार आन्दोलनका समर्थकहरूले धरान स्थित ग्लोबल आइएमई बैङ्कको शाखा कार्यालय घेराउ गर्ने भएका छन् ।
गोलीकाण्डको भर्त्सना गर्दै आज आइतबार भानुचौकमा आयोजित विरोध सभामा विरोध कार्यक्रम स्वरूप बैङ्कको शाखा घेराउ गरिने पहिचानवादी संयुक्त मोर्चाका नेता जेन्टल लावतीले उद्घोष गरे ।
उनले ग्लोबल आइएमई बैङ्क मुक्कुमलुङमा केबलकार बनाउने कम्पनीका मालिक चन्द्र ढकालको भएको बताउँदै गोलीकाण्डको विरोधमा सोमवार बैङ्कको शाखा घेराउ गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई आव्हान गरेका हुन ।
नेता लावतीले भने ‘ग्लोबल आइएमई बैङ्कमा खाता हुनेहरूले खाता बन्द गरौँ, कारोबार गर्नेहरूले कारोबार बन्द गरौँ ।’ उनले बैङ्कका मालिक ढकालकै कारण मुक्कुमलुङ क्षेत्रमा रक्तपात भएको बताए ।
पैसाको लागि आस्थाको केन्द्र, मौलिक प्राकृतिक सम्पदा नष्ट गर्न निहत्था जनता माथि गोली चलाउने स्थिति ल्याउने मालिकलाई दबाब दिन बैङ्कलाई नाकाबन्दी गर्न जरुरी भएको उनले बताए ।
बैङ्कको धरान शाखा भानुचौक पश्चिम सडक धरान-९ पुतली बजारमा छ । आन्दोलनकारीले सोमवार १ बजे देखी शाखा कार्यालय घेराउ गर्ने भएका हुन ।
मुक्कुमलुङ पाथीभरा क्षेत्रमा गोली प्रहार भएको घट्नाको विरोधमा आन्दोलनकारीले मङ्गलवार देखी ताप्लेजुङ प्रवेश गर्ने सडकका नाकाहरूमा अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेका छन ।
नेता लावतीले मुक्कुमलुङ क्षेत्रमा केबलकारको योजना जब सम्म रद्द गरिँदैन तब सम्म आन्दोलन जारी रहने बताउँदै भने ‘गोली प्रहारबाट गम्भीर घाइते भएकाहरूको उपचार, उनीहरू निको भएर क्षतिपूर्ति नपाए सम्म आन्दोलन सशक्त रूपमा जारी रहन्छ ।’
किरात याकथुङ चुम्लुङका केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले ताप्लेजुङको घट्नामा नेपालका ठुला मिडियाले सत्ता पक्षमा लागेर जनतामा भ्रम छरेको आरोप लगाए । उनले भने ‘सुरक्षाकर्मीको गोली लागेर घाइते भएकाहरूको समाचारलाई लुकाएर प्रहरी घाइते भएको उल्टो समाचार दिएर मिडियाले जनतामा भ्रम सिर्जना गरेको छ ।’
उनले मुक्कुमलुङ आन्दोलन शान्ति पूर्ण रूपमा सरकारलाई दबाब दिएर केबलकार बनाउने गलत योजना फिर्ता गर्न चलिरहेको उनले बताए । तर सरकारले एउटा व्यापारीको कठपुतली बनेर निहत्था जनता माथि गोली चलाएर अधिनायकवादी बनेको उनले आरोप लगाए ।
मोर्चाका अर्का नेता राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले निहत्था आन्दोलनकारी माथि गोली प्रहार गरेर सरकारले व्यापारीको हितका पक्षमा जनता मार्ने सम्मको चरित्र देखाएको बताए । यसबाट मुक्कुमलुङमा केबलकार कसको हित र नाफा कमाउनका लागि भइरहेको छ भन्ने कुरा उदाङ भएको बताए ।
आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवासचन्द्र हुक्पाचोङबाङले मुक्कुमलुङको जस्तो आन्दोलन धरानमा खानेपानीको ट्याङकी ऐतिहासिक दरबार स्थलमा बनाउन नदिने अभ्यास भैसकेको बताए ।
त्यस बेला स्थानीय सरकारसङ सघर्ष भएको थियो । मुक्कुमलुङको आन्दोलनमा पनि त्यही प्रकृतिको भएकोले व्यापारी, ठेकेदार कमिसन खोरहरूको हितमा गोली समेत चलाउने सरकारलाई आन्दोलनले घुँडा टेकाउन जरुरी भएको बताए ।