धरान : मुक्कुमलुङ पाथीभरामा केबलकार निर्माण सम्बन्धी विवादमा प्रहरीले गोली प्रहार गरेको विरोधमा सोमवार आन्दोलनकारीले धरान स्थित ग्लोबल आइएमई बैङ्कको शाखा कार्यालय घेराउ गरेका छन् ।
मुक्कुमलुङमा केबलकार बनाउने कम्पनीका मालिक चन्द्र ढकाल आइएमई बैङ्कका सञ्चालक समितिका अध्यक्ष समेत हुन । आन्दोलनकारीले गोलीकाण्डको भर्त्सना गर्दै आज सोमबार धरान-९ पुतली बजार स्थित बैङ्कको शाखा अगाडि धर्ना बसेर शान्तिपूर्ण घेराउ गरेका हुन ।
उनीहरूले मुक्कुमलुङ संरक्षण प्रेमीहरूमाथि गोली चलाउन पाइँदैन, धर्ममा व्यापारीकरण बन्द गर, राज्य आतङ्क, प्रहरी दमन, प्रहरी ज्यादती बन्द गर, केबलकार निर्माण खारेज गर, मुक्कुमलुङमा केबलकार चाहिँदैन, असक्षम गृहमन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।
आन्दोलनकारीले बैङ्कको धरान शाखा प्रमुख गोपाल घिमिरे मार्फत केबलकार बनाउने सञ्चालक समितिका अध्यक्ष ढकाललाई ७ बुँदे माग पत्र सहितको ध्यानाकर्षण पत्र बुझाए ।
धर्ना कार्यक्रममा अमित थेवेले ग्लोबल आइएमई बैङ्कमा जम्मा ५० लाख ग्राहक सङ्ख्या रहेको र ६ं० प्रतिशत आदिवासी जनजाति ग्राहक रहेकोले हेक्का राख्नु पर्ने बताए । उनले खाता हुनेहरू सबै ग्राहकले खाता बन्द गरौँ, कारोबार गर्नेहरूले कारोबार बन्द गर्न आव्हान गरे ।
आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवास हुक्पाचोङवाङ, जनमुक्ति पार्टीका नेता विष्णु थामदेन, किरात याक्थुम चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पाचोङवाङ, विप्लव पार्टीका धरान अध्यक्ष गजेन्द्र लिम्बुले बैङ्कका सञ्चालक केबलकारका मुख्य मालिक भएकोले असहयोग आन्दोलन पनि सुरु भएको बताए ।
उनीहरूले मङ्गलवार देखि अनिश्चीतकालीन यातायात बन्दको घोषण भएकाले साथ र सहयोग गर्दे आन्दोलनमा साथ दिन आग्रह गरे ।
ध्यानाकर्षण पत्रमा मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री प्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति संयोजक खगेन्द्र फेम्बु, प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति संयोजक प्रेम येक्तेन, किरात धर्म तथा साहित्य उत्थान सङ्घ अध्यक्ष डकेन्द्रसिं थेगिम, लिम्बु थरगत संस्था सहजीकरण समूह संयोजक नन्द कन्दङवा लगायतले हस्ताक्षर गरेका छन् ।
mukumlung-andalon