झापा : मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति लगायतका ६ वटा संस्थाले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्ग र तमोर कोरिडोरमा यातायातका साधन सहज रूपमा चल्न सकेका छैनन् ।
झापाको बिर्तामोडबाट मेची राजमार्ग भएर पूर्वी पहाडी जिल्लातर्फ जाने सवारी साधनहरू चल्न सकेका छैनन् । मेची राजमार्ग भएर इलामतर्फ जाने सवारी साधनलाई स्कर्टिङको व्यवस्था गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो राजमार्गमा फाट्टफुट्ट रूपमा साना सवारी साधनहरू भने सञ्चालन भइरहेको छ । आज बिहानै मेची राजमार्गको विभिन्न ठाउँमा बन्दकर्ताहरूले टायर बालेर प्रदर्शन गरेका थिए ।
पाथीभरामा शनिवार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्ता लगायतका माग राख्दै मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान सङ्घले बन्द आह्वान गरेका हुन् ।


































































