सुनसरी : हिसान सुनसरीको ११औ स्पोर्टस मिट अन्तर्गत मङ्गलवार देखि हिसान बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
अग्रज बास्केटबल खेलाडी एवम् सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन खेलमा महिला तर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७-१६ अङ्कको झिनो अन्तरले पराजित गरेको छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक क्वाटरमा २-५, ७-४, २-४ र ६-३ अङ्क जोडेका थिए । प्रमुख अतिथि सुवेदीले रेफ्रिलाई बल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो ।
सोही दिन भएको पुरुष तर्फको खेलमा मेघा कलेजले एम्स एकेडेमीलाई ६६-३६ अङ्कले पराजित गरेको छ । खेलमा मेघा कलेज र एम्स एकेडेमीले प्रत्येक क्वाटरमा १७-१६, ११-१०, २३-२ र १५-६ अङ्क जोडेका थिए ।
तेस्रो खेलमा सियोन स्कुलले सुष्मा गोदावरी स्कुल इटहरीलाई वाक ओभर दिएपछि सुष्मालाई विजेता घोषित गरिएको थियो । चौथो खेलमा विश्व आदर्श इटहरीले पूर्वाञ्चल कलेजलाई २४-१२ अङ्कले पराजित गर्यो।
विश्व आदर्श र पूर्वाञ्चलले प्रत्येक क्वाटरमा ८-४, ६-१, १०-२ र ०-५ अङ्क जोडेका थिए । पाँचौँ खेलमा विष्णु स्कुलले नास्ट कलेजलाई २२–१९ अङ्कले पराजित गर्यो । विष्णु र नास्टले खेलको प्रत्येक क्वाटरमा ५-५, ३-४, ७-० र ६-१० अङ्क जोडेका थिए ।
प्रतियोगिता व्यवस्थापन तथा प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घ र धरान बास्केटबल सङ्घले गरेको छ । हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईको सभाध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल बास्केटबल सङ्घका केन्द्रीय सदस्य रोशन राई, एम्स एकेडेमी प्रिन्सिपल सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा महिला तर्फ ३ र पुरुष तर्फ १० टिमले सहभागिता जनाएका छन् । बुधवारको खेल महिला तर्फ धरान उच्च र नास्ट कलेज र पुरुष तर्फ धरान मेघा र धरान आदर्श र शुष्मा कलेज र धरान उच्च बिच प्रतिस्पर्धा हुनेछ ।