इटहरी : स्वर्गीय नेता कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा शुक्रवार आयोजक र केराबारी फुटबल क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।
जनता बहुमुखी क्याम्पसको खेलमैदान दिउँसो ३ बजेदेखि हुने प्रतियोगितामा आयोजक द योङ ब्रदर्स र केराबारी बिच प्रतिस्पर्धा हुन लागेको हो ।
बिहीबार भएको उद्घाटन खेलमा दमक एकेडेमी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । दमक एकेडेमीले न्यु स्टार क्लब वराहक्षेत्रलाई १-० को अन्तरले पराजित गरेको हो । दमकका लागि खेलको १५औँ मिनेटमा एनोस मगरले गरेको गोल नै निर्णायक बनेको थियो ।
उनै एनोस ‘म्यान अफ द म्याच’ घोषित भएर पाँच हजार प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेतालाई भने १ लाख ३० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गरेको प्रतियोगिता २४ गतेसम्म चल्ने भएको छ ।