इटहरी : इटहरी उपमहानगरपालिकाको कर्मचारी भर्ना प्रक्रिया शङ्कास्पद देखिएको छ । पछिल्लो समय उपमेयर सङ्गीता चौधरी सहित नेकपा एमालेका कार्यपालिका सदस्य र प्रशासन शाखा प्रमुख सञ्जीव खड्का बिचको विवादले भर्ना प्रक्रिया देखि कार्यसम्पादनमा शङ्का उत्पन्न गराएको हो ।

कर्मचारी सरुवा पछि आइडी पासवर्ड परिवर्तन भएको र सरुवा भएको वडामा पुगेपछि मात्र आइडी खुल्ने सिस्टम नबुझ्दा सुरु भएको विवादले भर्ना प्रक्रिया सम्म प्रश्न उब्जाएको छ । विवादको बेलो आइडी पासवर्ड र कर्मचारी सरुवामा मात्र हैन नेपाली काँग्रेस निकट कर्मचारी युनियन गठनमा पुगेको देखिन्छ ।

युनियन गठनपछि बिच्किएको एमालेले उपमहानगरपालिकाको कर्मचारी संयन्त्रमा कमजोर महसुश गर्न थालेको छ । लामो समय राजनीतिक र प्रशासनिक रूपमा एकलौटी शासन गरेको एमालेको लागि काँग्रेसबाट हेमकर्ण पौडेल मेयर निर्वाचित हुनु र युनियन गठन हुनुले हलचल ल्याएको र त्यही हलचलको पराकम्पन माघ ११ गते शुक्रवार देखिएको हो ।

विवादका विषयहरू पर्गेल्ने क्रममा मेयर हेमकर्ण पौडेलले २०८१ भदौ २१ गते सार्वजनिक गरेको भिडियो सन्देशमा पुग्नुपर्ने हुन्छ । मेयर पौडेलले इमानदार र जनपक्षीय काम गरेको भन्दै झुटो आरोपले पाइला नरोकिने बाचा गरेका छन् । सङ्घीय सांसद अशोक कुमार चौधरीलाई नगर बसको खरिद प्रक्रिया र एमालेलाई उपभोक्ता समितिको भुक्तानीको विषयमा जवाफ फर्काएका छन् ।

त्यही बिचमा उनले कर्मचारीको विषय छुवाएका छन् । भर्खरै एमालेको नगर अध्यक्ष निर्वाचित भएका रुपेश बस्नेतलाई भिडियो प्रमाण प्रस्तुत गर्ने चेतावनी दिएका छन् । बजेट नीति तथा कार्यक्रम पास गर्ने समयमा बस्नेत सहित उपमेयर र केही वडाध्यक्षहरूले नदिएपछि आक्रोशित बनेका उनले कर्मचारीमा भागबन्डा मागेको आरोप लगाए । आफूले धेरै कुरा नबोलेको भन्दै उनले बस्नेत पार्टी सचिव भएको बेला कर्मचारी भागबन्डामा बार्गेनिङ गरेको भिडियो फुटेज सहितको प्रमाण उपलब्ध गराउने चेतावनी दिएका थिए ।

मेयर पौडेलको सो वक्तव्यलाई पुष्टि हुने गरी प्रशासन प्रमुख खड्काले केही दिन अगाडी उपमेयर चौधरीले भागबन्डा मागेको बताए । उपमेयर चौधरीले कर्मचारी भर्ना गर्दा भागबन्डा माग्ने गरेको र त्यसो गर्न नसकेपछि आफूमाथि आक्रोश पोखेको उनले बताएका छन् । कर्मचारी पदपूर्ति समितिमा बस्यो वा उपसमितिमा बस्यो भन्दैमा सबै उपमेयरका मानिस भर्ना गराउन नसकिने उल्लेख गर्दै खड्काले चौधरीले कार्यकक्षमा बोलाएर दबाब दिने गरेको दाबी गरे ।

उपमेयर चौधरीले पनि ३८ जना सामुदायिक नर्स र स्कुल नर्सहरू सम्पूर्ण सञ्जीव खड्काले भर्ती गरेको खुलाइन् । खड्काले लगाएको आरोपको खण्डन गर्ने क्रममा मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई भन्ने कुरा प्रशासन प्रमुखलाई नभन्ने बताइन् ।

मेयर, उपमेयर र प्रशासन प्रमुखका पछिल्ला वक्तव्यले इटहरी उपमहानगरपालिकाको कर्मचारी भर्तीको निष्पक्षतामा शङ्का भएको छ । भागबन्डा वा एकलौटी रूपमा जसरी भर्ती भए पनि इटहरीको कर्मचारी भर्ना प्रक्रिया शङ्कास्पद देखिएको छ । पछिल्लो समय कर्मचारी भर्ती बढी भएको आलोचनाका बिच भर्ना प्रक्रिया र त्यसको निष्पक्षतामा नै प्रश्न उठेको छ । आधिकारिक व्यक्तिहरू बाटै भर्ना प्रक्रिया र त्यसको निष्पक्षता बारे आरोप प्रत्यारोप सार्वजनिक भएपछि थप आशङ्का बढेको हो ।