धरान : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीद्वारा आयोजित ११औँ हिसान स्पोर्टस् मिटको समापन समारोहमा शनिवार शिक्षा सेवी श्यामबहादुर कटुवाललाई 'हिसान शिक्षा रत्न सम्मान' प्रदान गरिएको छ ।

बयोवृद्ध कटुवाललाई प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले दोसल्ला ओढाएर हिसान शिक्षा रत्न सम्मानपत्र प्रदान गरेका हुन ।

शिक्षा सदन माविका पूर्व प्रधानाध्यापक कटुवालले धरानको शैक्षिक एवं सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ स्वरूप हिसान शिक्षा सम्मान प्रदान गरिएको हो ।

हिसान केन्द्रीय सदस्य मुकुन्द घिमिरेले भने ‘कटुवाल सरले धरानका धेरै पुस्तालाई स्कुले शिक्षा पढाउनु भएको मात्र होइन, नयाँ पुस्तालाई शिक्षा दिने शिक्षकहरू पनि जन्माए ।’

शिक्षाको क्षेत्रमा उनको योगदानको चर्चा गर्दै घिमिरेले कटुवाल सरकै योगदान स्वरूप अहिलेको पुस्तालाई गुणस्तरीय शिक्षा दिने शिक्षक र शिक्षा व्यवसायीहरूको उत्पादन भएको बताए ।

नयाँ पुस्ताका पत्रकार कृष्ण बहाव भट्टराईलाई सोही अवसरमा ‘हिसान शिक्षा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । हिसान सुनसरीले प्रत्येक वर्ष संस्थागत तथा सामुदायिक विद्यालयीय शिक्षाको क्षेत्रमा उल्लेखनीय समाचार लेख्दै आएको पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

२५ हजार रुपैयाँ नगद राशिको उक्त पुरस्कार एवं सम्मानपत्र प्रमुख अतिथि सिलवालले बहावलाई प्रदान गरेका हुन । सोही अवसरमा हिसान सुनसरीद्वारा आयोजित हिसान स्पोर्टस् मिटका विजेता विद्यालयीय टिमहरूलाई शिल्ड, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन समारोहका बिच स्पोर्टस् मिटको अन्तिम कार्यक्रम राई समुदायको सांस्कृतिक नृत्य साकेला प्रतियोगिता भएको थियो ।

हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडा लगायतले हिसानको योगदानको बारेमा चर्चा गरेका थिए ।

हिसान उपाध्यक्ष नेत्र सुवेदीले स्वागत भाषण गरेको कार्यक्रम सञ्चालन सचिव सुभाष लुइँटेलले गरेका थिए ।

krishna-bahab