इटहरी : पूर्वको प्रतिष्ठित फुटबल प्रतियोगिता इटहरी गोल्डकप फाल्गुन ३ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय जागृति क्लब इटहरीले आयोजना गर्न लागेको १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा ८ टिमले सहभागिता जनाउने भएका हुन् ।

अघिल्लो संस्करणमा १ लाख ३२ हजार घाटा ब्यहोरेको क्लबले यस पटक ५० हजार अनुमानित आम्दानी गर्ने बताएको छ । अघिल्लो संस्करणमा प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषद्ले बाचा गरेर भुक्तानी नदिएपछि घाटा भएको जनाइएको छ । कोशी प्रदेशबाट प्राप्त हुने १५ लाख र राखेपको १० लाख रुपैयाँ घाटा लागेको हो ।

यस पटक ८१ लाख ५० हजार खर्च अनुमान गरेको क्लबले ८२ लाख आम्दानी हुने जानकारी दिएको छ । शनिवार इटहरीमा पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अनुरोध थापाले प्रतिबद्धता अनुसार रकम आए केही राहत मिल्ने बताए । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक थापाको भनाइ छ ।

प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयबाट १७ लाख रुपैयाँ आउने आयोजकको दाबी छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख, विभिन्न विधामा उत्कृष्ट हुनेलाई नगद २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने छन् ।

सर्वाधिक गोलकर्तालाई २५ हजार प्रदान गरिने बताउँदै थापाले, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले २०/२० हजार पाउने बताए ।

इटहरी उपमहानगरपालिकाको संयोजन रहेको प्रतियोगितामा साबिक विजेता चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), झापा ११, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब, युकेएफसी भारत, आयोजक राष्ट्रिय जागृति क्लब र दुई पटकको च्याम्पियन सगरमाथा यूथ क्लब मोरङ गरी ८ टिमको सहभागिता रहने छ ।

पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड खर्साङ फुटबल क्लब (युकेएफसी) बिच प्रतिस्पर्धा हुनेछ ।

फागुन ४ गते सगरमाथा यूथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी) र ५ गते मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बिच प्रतिस्पर्धा हुने तालिका छ ।

अन्तिम क्वाटर फाइनलमा फागुन ६ गते चर्च ब्वाईज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

Itahari-goldcup