सुनसरी : १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधी फुटबलको उपाधी चर्च ब्वाइजले जितेको छ ।

शनिवार राती सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाएको छ । उपबिजेतामा सिमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ ।

चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बाँकी अधिकांश समय रक्षात्मक खेलेको थियो । आर्मीका खेलाडीले पाएका आधा दर्जन अवसरलाई सदुपयोग गर्न नसक्दा उपबिजेतामै सिमित बन्न पुग्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए । उनले नगद १ लाख रुपैयाँ पाए । उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्चका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भत्तराज घोषित भए । उनीहरूले जनही २० हजार पाए । सर्वाधिक गोलकर्ता डिफेण्डिङ च्याम्पियन सगरमाथाका विमल घर्ती मगर भए ।

चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोलले पराजित गर्दै उपाधी नजिक पुगेको थियो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुटआउटमा २-१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको थियो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्युरोड टिम एनआरटीलाई पराजित गरेको थियो ।

चैत्र १० गते देखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता थियो । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगिताको कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको थियो ।