धरान : भ्यालेन्टाइन डेको दिन धरानमा प्रस्तुति दिन दुइदिन अघि नै धरान उत्रिएकी गायिका रचना दाहालले बिहीबार नै विजिनेश एक्स्पो भिजिट गरेको लाइभ रिल सेयर गर्दै आज सँगै प्रेम दिवस मनाउने उद्घोष गरेकी छिन् ।

यता भ्यालेन्टाइन डे लाई विशेष सेलेब्रेसनकै लागि भनेर रचनालाई धरान बोलाइएको सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जानकारी गराए ।

श्रेष्ठका अनुसार आजको प्रस्तुतिमा विशेष लाइट र साउण्डसिस्टम थप गरिएको छ । उनले भने 'काठमाडौँबाट दश लाखको त लाइट मात्रै ल्याएका छौँ। 

रचनाको गीतसँगै कलाकारहरूको प्रत्यक्ष अभिनयका लागि भनेर दुई दिनदेखि नै गायिका रचना दाहाललाई धरान बोलाएर अभ्यास गराइरहेका छौँ ।'

श्रेष्ठले भने 'अहिलेसम्म नगरिएको अभ्यास गरेका छौँ यसले एक्स्पोलाई झन् हेर्न लायक बनाउनेछ ।'

पछिल्लो पुस्ताले रुचाएकी गायिका रचना दाहाल धरानमा जारी विजिनेश एक्स्पोमा मात्रै होइन धरानमै पहिलो पटक प्रस्तुत हुँदैछिन् । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे का दिन धराने फ्यानहरूसँग गायिका रचना रमाउनेछिन् ।

दाहालको "आज्ञा, भूमरी, दागवत्ति, हे भगवान्, सपनाको राजा" जस्ता गीतहरूले युटुवमा धेरै भ्युज पाएका लोकप्रिय गीतहरू रहेका छन् ।

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उद्देश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरू प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी दिए ।