इटहरी : इटहरी गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा धरान फुटबल क्लब विजयी भएको छ । १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा धरान सेमिफाइनल प्रवेश गरेको हो ।
मङ्गलवार भएको प्रतियोगितामा धरानले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा धरानका दोर्जे तामाङले गोलको सुरुवात गरे । खेलको ४७औँ मिनेटमा पहिलो गोललाई ५७औँ मिनेटमा विवेक राईले थप गोल गरेर दोब्बर बनाए ।

चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ८४औँ मिनेटमा गोल फर्काए तर जितको लागि पर्याप्त बनेन । खेलको म्यान अफ दि म्याच घोषणा भएका दोर्जेले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको २५औँ संस्करणमा उपविजेता बनेको थियो ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधवार युनाइटेड खर्साङ क्लब (दार्जिलिङ) र मच्छिन्द्र फुटबल क्लब (काठमाडौँ)बिच हुने भएको छ ।
दार्जिलिङले क्वाटर फाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २-१ गोल अन्तरले हराएको थियो । मच्छिन्द्र फुटबल क्लबले झापा ११ फुटबल क्लबलाई सोमबार मात्र १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।