धरान : लिम्बुवानका नेता कुमार लिङदेन ‘मिराक’ ले पूर्वका राई र लिम्बु जाति बिच एकता नहुँदा उनीहरूको पहिचानका मुद्दालाई राज्यले अवमूल्यन गर्दै आएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले मुक्कुमलुङमा गोली हानेर केबलकार बनाउन एउटा व्यापारीको संरक्षण गर्ने आँट त्यसै कारण गरेको उनको भनाई छ ।

मुक्कुमलुङमा केबलकारको विरोध गर्दै आएका आन्दोलनकारीहरूको आज बिहीबार आयोजित वृहत् विरोध र्याली पछि भानुचौकमा भएको सभामा उनले भने ‘पूर्वका राई र लिम्बु एक नभएका कारण ओली सरकारले पहिचानवादी शक्तिलाई अवमूल्यन गरेको हो ।’
उनले अव धरानले शक्ति प्रदर्शन गर्दै राई र लिम्बुमा एकता भएको धरान घोषण पत्र सार्वजनिक गर्नुपर्ने बताए ।
नेता लिङदेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वन विनाश गरी लोपन्मुख रेडपाण्डाको बासस्थान मुक्कुमलुङ पाथीभरा क्षेत्रलाई मासेर राष्ट्रिय निकुञ्जको जमिन बोचेको आरोप लगाए ।
उनले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नु पर्ने माग गदै मुक्कुलुङमा सर्वदलीय सर्वपक्षीय गोलमेच सम्मेलनको आव्हान गर्न माग गरे । लिङदेनले भने ‘मुक्कलुङमा केबलकार बन्नु नहुने धेरै कारण रहेको छ ।’
लिङदेनले भने ‘तत्कालीन प्रधानमन्त्रीत्वको कार्यकालमा ओलीले हिमाली भालुको वासस्थान कञ्चनजंगा निकुञ्ज पाथीभरा क्षेत्रबाट निकालेर निकुञ्जको जमिनलाई बेचेका हुन ।’
केबलकारको ग्राइण्डडिजाइन त्यसै बेला तयार भएको र अहिले एकै समुदायलाई विभाजित गरेर पहिचानवादी कमजोर बनाउँदै धमाधम काम चालु गरेको उनको भनाई थियो ।
उनले भने ‘अब राई र लिम्बु पहिचानवादी एक भएर ओलीको ढाड सेक्नु पर्ने बेला आएको छ ।’ मुक्कुमलुङ पाथीभरा मन्दिरको संरक्षणमा लागेका पहिचानवादीहरूलाई गोली हानेर सरकारले देखाएको निरंकुशताको जवाफ आन्दोलनलाई सशक्त बनाएर दिनु पर्ने उनको भनाई थियो ।
आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुवास हुक्पाचोङवाङले धरानमा प्रहरीले गरेको प्रहरी आतङ्क महासङ्घलाई सह्य नभएको बताउँदै तत्काल प्रहरी प्रशासनले माफ माग्नु पर्ने नत्र जस्तो सुकै आन्दोलन गर्ने बताए ।
उनले सुनसरी प्रशासनले माफ नमागे सुनसरी बन्द गर्ने चेतावनी दिए । उनले अव देखि प्रहरीले कुनै पनि जातीय सङ्घ संस्थाको भवनमा विना इजाजत आधिकारिक जानकारी कुनै पनि सङ्घ संस्थाको भवनमा नपस्न आग्रह गरे ।
किरात याक्थुङ चुम्लुङ सुनसरीका जिल्ला अध्यक्ष मोहन हुक्पाचोङले बिना इजाजत चुम्लुङ हिममा मध्यरातमा अनधिकृत रूपमा प्रहरी प्रशासन प्रवेश गरी राज्य आतङ्क मच्चाएकोमा प्रहरी प्रशासनले माफी माग्नु पर्ने बताए ।
उनले भने ‘यो शान्तिपूर्ण र्याली मात्र हो प्रहरी, प्रशासनले माफी नमागे आन्दोलन अझ चर्किन सक्छ ।’
किरात याक्थुङ चुम्लुङ धरान अध्यक्ष तीर्थ लिम्बुले पक्राउ परेका सुमन र सिर्जनालाई रिहाइ गर्न र प्रहरी दमन बन्द गर्न माग गरे । चुम्लुङ हिममा भएको घटनामा प्रहरीले तुरुन्त माफ माग्नु पर्ने लिम्बुले माग गरे ।
धरान-१५ स्थित चुम्लुङ हिममा फागुन ४ गते रातको ११ बजे प्रहरीले विना इजाजत प्रवेश गरेर ठुलो सङ्ख्यामा दलबल सहित हस्तक्षेप गरेको थियो । प्रहरी दमन र आतङ्कको विराधमा माफ माग पर्ने भन्दै धरानमा विरोध प्रदर्शन भएको हो ।
चुम्लुङ सुनसरी जिल्ला तथा धरान नगर समितिको आव्हानमा भएको विरोध प्रदर्शनमा पक्राउ परेका २ जना पहिचानवादी अगुवाको विनाशर्त रिहाइ माग गर्दे नाराबाजी गरिएको थियो ।
साथै ८ जना पहिचानवादीको नाम जारी गरिएको पक्राउ पुर्जी खारेज हुनुपर्ने, मुक्कुलुङमा केबलकार निर्माण प्रक्रिया बन्द हुनुपर्ने र सर्वदलीय बैठक माग गरिएको थियो ।
प्रदर्शनकारीले प्रहरी दमन बन्द गर, आदिवासी जनजाति एकता जिन्दाबाद, राज्य आतङ्क बन्द गर, आदिवासी जनजातिको अस्तित्व मेट्न पाइँदैन, ऐतिहासिक मुन्धुमी क्षेत्र अतिक्रमण बन्द गर आदि नाराबाजी गरेका थिए ।
धरानको पुरानो हस्पिटल छाता चोकबाट सुरु भएको विरोध र्याली चतरा लाइन हुँदै धर्म पथ, पुतली लाइन, भानुचोक पुगेर सभामा परिणत भएको थियो ।