इटहरी : मुक्कुमलुङ पाथीभरा क्षेत्रमा आन्दोलन जारी छ । पर्यावरण र पहिचानको विनाश गर्न लागेको भन्दै चर्किएको आन्दोलन निषेधाज्ञामा परिणत भएको हो । शनिवार राति आन्दोलनरत पक्षधर र प्रहरी बिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पछि हुलहुज्जत र आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।
निषेधाज्ञा जारी भएसँगै ताप्लेजुङमा आन्दोलनको कुनैपनि कार्यक्रम सार्वजनिक भएका छैनन् । साँझको समयमा आन्दोलन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सम्भावित क्षेत्रमा गस्ती गरिरहेको छ । स्थानीय पत्रकार कृष्ण लिम्बूका अनुसार मानिसको आवतजावत सामान्य अवस्थामा रहेको र व्यापार व्यवसाय पुरानै अवस्थामा चलिरहेको छ ।

आन्दोलनरत पक्षधरहरू तत्काल बजारमा नदेखिएकाले मुठभेडको खतरा नभएको उनको भनाइ छ । स्थानीय आन्दोलनकारी कमै भएकाले बाहिरबाट आएका आगन्तुकको कारण माहौल बढी उचालिएको उनले स्पष्ट पारेका छन् ।
ताप्लेजुङमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम दाहाल नेतृत्वको टोली परिचालन भएको छ । आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि गृह मन्त्रालयले थप सुरक्षाकर्मी पठाएको हो । अपराध अनुसन्धानमा अब्बल मानिएका दाहालले आन्दोलनको गहिराई बुझ्ने भएका छन् । आन्दोलनमा परिचालित व्यक्तिहरूको बारेमा सूक्ष्म अध्ययनको लागि टोलीले काम गर्ने बताइएको छ ।
आन्दोलन स्थानीयले स्वत: स्फूर्त गरेका हुन् वा बाहिरका पाहुनाबाट परिचालित छ भन्नेबारे प्रहरीले अध्ययन गर्न थालेको छ । आन्दोलनको मुख्य अगुवा श्री लिङखिमले मोबाइल नै अफ गरेका छन् । अर्का अगुवा खगेन्द्र फेम्बो आन्दोलनको थप रणनीतिको विषयमा खुल्न चाहेका छैनन् । प्रहरीले भने आन्दोलनरत पक्षधरमाथि सूक्ष्म निगरानी राखिरहेको छ ।