इटहरी : इटहरीका व्यवसायीले बैङ्कको कारण अत्यधिक तनाव खेप्नुपरेको बताएका छन् । पछिल्लो समयको मन्दी र आर्थिक समस्याको कारण व्यवसायीक कारोबार कमजोर बनिरहेको बेला बैङ्कले गुन्डा पठाएर धम्की दिएको उनीहरूले बताए ।  

बैकले ‘पेशेवर गुन्डा’ लाई रिकभरीको रूपमा प्रयोग गर्दै परिवारलाई धम्की दिएर आतङ्क सृजना गरेको व्यवसायीको गुनासो छ । समाजमा बदनाम गर्ने गरी घरमा ल्याएर सूचना टाँस्ने देखि छिमेकी बोलाएर हल्ला गर्ने सम्मको हर्कत बैङ्कले गरिरहेको उनीहरू बताउँछन् । परिवारमा मानसिक तनाव सृजना गराएर मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याएको भन्दै व्यवसायीहरू आक्रोशित बनेका छन् । 

निर्माण व्यवसायी कुमार गिरीका अनुसार  बैङ्कको गुण्डागर्दी अत्यधिक भएको र व्यवसायीक वातावरण खलबल्याउन पेशेवर गुन्डाहरू प्रयोग भइरहेको छन् । बैङ्कको आतङ्कले निदाउन नसक्ने अवस्थामा पुगेको व्यवसायीलाई सङ्कटको समयमा झनै तनाव दिने काम भइरहेको उनले बताए । 

अर्का व्यवसायी तारा कटुवालले बैङ्कले मर्नु न बाच्नुको अवस्थामा पुर्‍याएको बताउँदै गहना बिक्री गरेर ब्याज तिर्दा समेत धर नदिएको बताए । बैङ्कबाट पीडित बनेका साना तथा मझौला व्यवसायीहरूलाई सङ्गठित गर्दै लैजान बैङ्क कर्जा व्यवस्थापन समिति गठन भएको जानकारी दिए । बैङ्कले दिएको दुःख को विषयमा अन्यत्र पनि आन्दोलन गर्ने र पीडित सङ्घर्ष समिति बनाएर आवाज बलियो बनाउने उनको भनाइ छ । 

फाल्गुन १६ गते पीडित व्यवसायीहरूले छलफलबाट भोला प्रसाद निरौलाको संयोजकत्वमा ३१ सदस्य बैङ्क कर्जा व्यवस्थापन समिति इटहरी गठन भएको हो । साना तथा मझौला व्यवसायीको आफ्नै सङ्गठन नभएकै कारण सरकार र व्यवसायीक सङ्गठनहरूले आफ्नो आवाज नसुनेको समितिको ठहर छ । 

सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै समितिले आगामी कार्यक्रम अझ व्यापक र आक्रामक हुने चेतावनी दिएका छन् । दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियान इटहरी नगर अध्यक्ष शरद तामाङले अब सम्पूर्ण पीडितहरू एकजुट हुनुपर्ने बताए ।

bank-pree-meet