इटहरी  : नेकपा एमाले मोरङको निर्वाचनमा विनोद ढकाल पक्षको एकछत्र विजयी भएको छ । जिल्ला कमिटीको पदाधिकारीमा ढकाल पक्षको प्यानलै विजयी भएपछि संस्थापन पक्ष निरीह बनेको हो ।

गत शनिवार उद्घाटन भएको दशौँ महाधिवेशनको नयाँ नेतृत्वको लागी मङ्गलवार भएको निर्वाचनमा ढकाल पक्षका अजम्बर राई अध्यक्ष निर्वाचित भएका छन् । शुक्रवार आएको अन्तिम मत परिणाम अनुसार राई नेतृत्वको प्यानल विजयी भयो ।

सार्वजनिक भएको मत परिणाम अनुसार कुल ८८८ मत मध्ये राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै ल्याएका छन् । उपाध्यक्षमा सागर थापाले ४२२ मत ल्याएर विजयी हुँदा ओझा प्यानलकी शान्तिकुमारी लिम्बूले ३९१ मतमा चित्त बुझाइन् ।  सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याए भने संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् । यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छिन् ।

बाँकी सदस्यहरूको मतगणना जारी छ । उपाध्यक्षमा विजयी थापा विराटनगर महानगर अध्यक्ष बाट कारबाहीमा परेका थिए । महानगरपालिकाकी उपमेयर शिल्पा कार्की ढकाल पक्ष छाडेर संस्थापन पक्षमा लागेकी थिइन् । उनी जम्मा १३ मतले पराजित बनिन् ।