इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन प्रवर्द्धन र विकासको काम बिहे गरे जस्तो एकै दिनमा गरिने कार्य नभएको बताएका छन् ।
उनले पर्यटन क्षेत्रको विकास एक दिने अभियान नभई निरन्तर लागिरहनु पर्ने दीर्घकालीन सोचका साथ गरिनु पर्ने काम भएकाले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन ।

कोसी पर्यटन वर्ष २०८२ को नीतिगत अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने ‘पर्यटन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र र कर्मचारी संयन्त्र बिच एकरूपता आवश्यक छ ।’
सोचाइहरू फरक भएमा कार्यान्वयनमा समस्या आउने उल्लेख गर्दै उनले कोसी प्रदेशले पर्यटनको क्षेत्रमा केन्द्र र स्थानीय तहलाई प्रेरित गर्ने गरी उदाहरणीय काम गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि संरचनागत, नीतिगत र कानुनी सुधार अनिवार्य रहेको उल्लेख गर्दै व्यवस्थापकीय कामलाई चुस्त दुरुस्त बनाउनुपर्ने बताए ।
उनले भने ‘युवाहरूलाई पर्यटन प्रचार प्रसारमा संलग्न गराउँदै पर्यटन क्षेत्रबाट मुलुकको उज्ज्वल भविष्य सम्भव छ भनी सन्देश दिनु पर्छ ।’
पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, सचिव तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।