इटहरी : कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ घोषणा गरेर कार्यक्रम सुरु गरिरहेका बेला नेपाल पर्यटन बोर्डले इस्टर्न टुरिजम मार्टको आयोजना गर्ने भएको छ ।
बोर्डको ३० लाख र इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारको पाँच-पाँच लाखको लगानीमा इस्टर्न टुरिजम मार्ट हुन लागेको हो । सरकारको ४० लाख लगानीमा फाल्गुन २५ देखि २७ गतेसम्म हुने मार्टले पर्यटन व्यवसायमा सुधार गर्ने अपेक्षा गरिएको छ ।

कोशी प्रदेशसँग नजिक रहेका बिहार, सिक्कीम र पश्चिम बङ्गालका पर्यटक ल्याउने गरी प्रयास थालिएको नेपाल पर्यटन बोर्डका प्रबन्धक उदय भट्टराईले बताए ।
उनका अनुसार पर्यटन व्यवसायमा एकै पटकको प्रयासले उछाल नआउने भएपनि सीमापारिका पर्यटन व्यवसायीसँगको अन्तरक्रियाले केही समयमा सफलता देखिँदै जानेछ ।
कोशी प्रदेशको मुख्यत: धार्मिक तथा साहसिक पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकलाई भित्राउन ल्याउने उद्देश्य रहेको उनले प्रस्ट पारे । नेपालका अन्य प्रदेशबाट पनि पर्यटनकर्मीको सहभागिता हुने भएकाले कोशी प्रदेशको प्रचारप्रसारमा यसले टेवा पुर्याउने भट्टराईको विश्वास छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने बताउँदै भट्टराईले इटहरी उपमहानगरपालिकाले २५ गतेको डिनर कार्यक्रम राखेको जानकारी गराए । २६ र २७ गते धरान, भेडेटार, वराहक्षेत्र, चतरा र उदयपुर सम्म अतिथिलाई घुमाएर विराटनगरमा कार्यक्रम समापन गरिने भएको छ ।
पाँचौँ संस्करणको मार्टमा ५० बढी स्टल राखिने भएको छ । पर्यटनका विभिन्न विधामा काम गर्ने उद्यमीलाई सम्मानको कार्यक्रम राखिएको मार्टको कारण कोशी प्रदेशका पर्यटकीय गतिविधिको व्यापकता बढ्ने अनुमान गरिएको छ ।