इटहरी : प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनमा एकलौटी रूपमा नेतृत्व चयन हुने भएपछि विद्रोह सुरु भएको छ । नेताले हैन प्रतिनिधिले नेतृत्व चयन गर्न पाउनुपर्ने माग राख्दै हस्ताक्षर अभियान सुरु भएको हो ।

गणेश पाण्डेलाई हलबाट अध्यक्ष घोषणा गर्ने तयारीका बिच अर्का प्रतिस्पर्धी राजेश राईले निर्वाचनको माग गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लोकतान्त्रिक प्रक्रिया सुरु गर्न आग्रह गरे ।

उनले लेखेका छन् , "निर्वाचनमा सहभागी प्रतिनिधिहरूले आफ्नो नेतृत्व आफैँ चयन गर्न पाउने अधिकारका निम्ति मेरो अडान कायम छ । उम्मेदवारी कायम छ । यसको जग नेतृत्वप्रतिको अगाध सम्मान र प्रतिनिधिहरूको गहिरो भावना हो । अरू सबै हल्ला हुन् ।"

नेकपा एमालेनिकट पत्रकारहरूको पेशागत सङ्गठन प्रेस चौतारी नेपालको जारी १०औँ महाधिवेशन विराटनगरमा सुरु भएको छ । खुल्ला सत्र सकिए लगत्तै  लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियान सुरु भएको हो ।

एकातिर खाली कागजमा निर्वाचनको माग गर्दै समर्थन जुटाइरहेको समूहले महाधिवेशन स्थलमा ब्यानर टाँगेर हस्ताक्षर अभियान थालेका हुन् । पार्टीको निर्णय भन्दै केन्द्रीय कमिटीको नाम टाँस्न नेताहरूले गोजीबाट नाम निकाल्न थालेका छन् । 

लोकतान्त्रिक विधिबाट नै सार्वभौम प्रतिनिधिको स्वविवेक मार्फत नेतृत्व छान्न पाउनुपर्ने माग बलियो बन्दै गएको छ। पार्टी नेतृत्वले पाण्डेलाई अगाडि सारे पनि प्रतिनिधि माझ राई लोकप्रिय देखिएका छन् । अध्यक्षमा राईले जित्ने भन्दै पार्टीको नेतृत्व निर्वाचन टार्ने रणनीतिमा छ।

press-chautari-123