धरान : नेकपा माओवादी केन्द्र निकट वाईसियल नेपाल र अखिल क्रान्तिकारीले संयुक्त रूपमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन साथै राँके जुलुस प्रदर्शन गरेका छन् ।
आज बिहीबार साँझ ७:४५ को समयमा धरान-९ शान्ति पथ मुक्कुलुम होटेल अगाडीबाट निस्केको क्रान्तिकारी र वाईसियलको संयुक्त जुलुसले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

शान्ति पथबाट निस्केको संयुक्त जुलुसले प्रधानमन्त्री ओलीको पुत्ला बनाई पुत्ला जलाएको थियो । पुत्ला जलाउँदै भानु चोक तर्फ ल्याउने क्रममा भानुचोक नजिकै प्रहरीले पुत्ला खोस्ने क्रममा सामान्य हातपात भएको छ ।
जुलुसले भानुचोकमा पुगेर नारा लगाउँदै कोणसभा गरेको छ । कोणसभामा क्रान्तिकारी केन्द्रीय सदस्य रविन श्रेष्ठ, र वाईसियल प्रदेश सह-इन्चार्ज टाईसन लिम्बुले बोलेका थिए ।
उनीहरूले कुलमान घिसिङको पुर्नवहाली गर ! केपी तेरो पाराले दुःख पाए साराले, ‘गणतन्त्र नेपाल जिन्दाबाद,’ 'उज्यालो नेपाल जिन्दाबाद, ‘भ्रष्ट सरकार राजीनामा दे’ऊर्जा मन्त्री दीपक खड्का राजीनामा दे’ लगायतको नारा लगाएका थिए ।
उनीहरूले युवा र विद्यार्थीहरूकै अगुवाइमा भएको आन्दोलनले राजतन्त्र फाल्दै गणतन्त्र स्थापना भएको स्मरण सरकारलाई गराउँदै भने कुलमान घिसिङको पुर्नवहाली नगरे सरकार विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।