इटहरी : बुधवार बिहान ९ः४० बजेदेखि इटहरीको मुख्य चोकको सेन्ट्रल प्लाजामा आगो सल्कियो । धुवाँ बाहिर निस्किए सँगै प्लाजा भित्रका मानिस थुनिए । लिफ्ट बन्द भयो । भर्याङ सम्म आगोको लप्का पुग्यो । धुवाँले पुरै भवन उकुसमुकुस भयो ।
बाहिर सडकमा भिडियो खिच्ने र लाइभ गर्नेको ताती नै लाग्यो । बिचरा भन्ने र सरकारलाई गाली गर्ने एकै पटक सक्रिय भए । दमकलका कर्मचारी कुनै सुरक्षा उपकरण बिनै खटिए । सुरक्षाकर्मीले आगो नियन्त्रणमा निक्कै मेहनत गरे ।

प्लाजामा मानिस फसेको सूचना पाएपछि हेलिकप्टर झिकाइयो । स्थानीय सरकार र प्रदेश सरकार हेलिकप्टर कसले झिकायो भन्ने प्रतिस्पर्धामा छन् । आफू निकट अनलाइन र पेज मार्फत हेलिकप्टर ल्याएको दाबी गरिरहेका छन् । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्लाजा भित्र फसेका नागरिकलाई हेलिकप्टर आउनु अगाडी नै उद्धार गरिसकेको थिए ।
अहिले चर्चा हेलिकप्टरको भए पनि सशस्त्र प्रहरीका सहायक हवलदार भरत काफ्लेको प्रशंसा भइरहेको छ । बरण्डा होटेलमा बसेका पाहुनाको उद्धारमा उनी डोरीमा झुन्डिएर ५ तल्ला माथि पुगे । कुनै सुरक्षा उपकरण बिना नै उनी डोरीमा झुन्डिए ।
उदयपुर घर भएका काफ्लेले डोरीबाटै तीन जनाको उद्धार गरे । भवन भित्रका मात्र हैन बाहिरका नागरिक अत्तालिएको अवस्थामा काफ्लेले बहादुरी देखाए । काफ्ले सँगै सशस्त्र प्रहरीका अन्य जवानहरू समेत उद्धारमा लागे । सशस्त्र प्रहरी बराह बाहिनीका उपरीक्षक विक्रम हुमागाईँ तालिम प्राप्त प्रहरीलाई खटाइएको बताउँछन् । निक्कै चुनौती मोलेर प्रहरी जवानहरू परिचालित भएको बताउँदै जिम्मेवारी बहन गर्ने काममा पछि नहट्ने उनले बताए ।
नेपाल प्रहरीका जवानहरूले सडकको व्यवस्थापन र थप सम्भावित दुर्घटनाबाट बचायो । विपद् व्यवस्थापनको तालिमको अभावका बिच जवानहरू निरन्तर मैदानमा खटिए । प्रहरीका अधिकारी र जवानहरूले देखाएको बहादुरीले अग्नि नियन्त्रण र थप सम्भावित दुर्घटनाको जोखिमलाई कम गराए ।
इलाका प्रहरी कार्यालयका इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी प्लाजाको उचाइ मुख्य चुनौती रहेको बताउँछन् । छिर्ने र निस्किने वैकल्पिक बाटो र अन्य श्रोतको अभावमा डोरीको सहायताले उद्धार गर्नुपरेको उनले बताए । दक्ष जनशक्ति र उपकरणको अभाव प्रहरीले सदैव झेलिरहेको उनको भनाइ छ ।
बिहानै सल्किएको आगो ५ घण्टापछि मात्र नियन्त्रणमा आयो । व्यवसायी राजेश श्रेष्ठको प्लाजामा होटेल, सिनेमा हल, बैङ्क लगायत अन्य ५० बढी व्यापार छन् । निक्कै भिडभाड हुने भवनमा आगो लागे पनि मानवीय क्षति हुन पाएन ।