धरान : काडमाण्डौमा भएको राजावादी प्रदर्शनमा हिजो शुक्रवार सञ्चार गृहलाई लक्षित गरेर तोडफोड गर्नुका साथै उनीहरूले गरेको आगजनीमा एक सञ्चारकर्मीको मृत्यु भएको घट्नाको नेपाल पत्रकार महासङ्घले भर्त्सना गरेको छ ।
आन्दोलनमा सहभागी अराजक समूहले आगो लगाएको भवनमा समाचार सङ्कलन गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु, अन्नपूर्ण मिडियाको भवनमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको छ ।
कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गा मुढा गरी समाचार कक्षमा आतङ्क सिर्जना गरेको, हिमालय टेलिभिजनको सवारी साधन तोडफोड गरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।
भनिएको छ ‘जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेस जस्तो भरपर्दो सञ्चार संस्थाहरू र सञ्चारकर्मीको ज्याने जाने गरी हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य कार्य भएको महासङ्घको ठहर छ ।’
शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घले सम्मान गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा आन्दोलनको नाममा सञ्चारकर्मीको ज्याने जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार नहुने उल्लेख छ ।
भनिएको छ ‘यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ ।’
FNJ-PR