इटहरी : पत्रकार सुरेश रजकको हत्याको विरुद्धमा नेपाल पत्रकार महासङ्घ सुनसरीले सडक र्‍याली र शोक सभा गरेको छ । शुक्रवार घरमा आगो लगाएर हत्या गरिएका रजकको न्यायको लागि महासङ्घले आन्दोलन गरेको हो ।

राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको अराजक आन्दोलनको कारण समाचार सङ्कलन गर्न गएका रजकको हत्या भएको थियो । आन्दोलनको क्रममा सञ्चार गृहको भवनमा आगो लगाउने, ढुङ्गा हान्ने, सवारी साधन तोडफोड गर्ने कार्य भएको प्रति सुनसरी महासङ्घले खेद व्यक्त गरेको छ । 

शनिवार बिहान विज्ञप्ति जारी गरेको सुनसरी महासङ्घले दिउँसो इटहरी उपमहानगरपालिका अगाडिबाट विरोध र्‍याली निकालेको हो । पत्रकार हत्याको घोर भर्त्सना गर्दै महासङ्घले प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार नगर्ने चेतावनी दिएको छ ।

"आपराधिक हर्कतमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ। साथै, क्षति पुऱ्याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

itahari-andalon