धरान : काठमाण्डौमा चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनमा तोडफोड र आगजनीका घट्नामा संलग्न मुख्य आरोपी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकले आज शुक्रवार प्रतिनिधि सभा कानुन न्याय तथा मानवअधिकार समितिलाई जानकारी दिएका छन् ।
समितिको बैठकमा गृहमन्त्रीले भने ‘मुख्य आरोपी दुर्गा प्रसाईँलाई पक्राउ गरिएको छ, घट्नामा संलग्न अरूलाई पनि पक्राउ गर्ने क्रम जारी रहेको छ ।’ अनुसन्धानको क्रम जारी रहेकोले संलग्नहरू थपिने उनले जानकारी दिए ।

घट्नाका घाइतेहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेकोले उपचार गराइरहेकाहरूले अस्पतालभन्दा बाहिर औषधि किन्नु परेमा त्यसको खर्च पनि सरकारले व्यहोर्ने जानकारी दिदैं गृहमन्त्रीले भने ‘घाइतेलाई अस्पतालहरूमा पुगेरै मैले भेटेको छु, ।’
घटनामा मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरूप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको जानकारी पनि बैठकमा दिएका छन् ।
हिंसात्मक प्रदर्शन संविधान च्यातेर व्यवस्था मास्ने प्रयासको रूपमा भएको भएको व्याख्या गर्दै गृहमन्त्रीले भने ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी अनुचित छ' हिन्दु धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिका लागि प्रयोग गर्नुहुँदैन ।’
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा असन्तुष्टि राख्न सकिने भएपनि लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने स्पष्ट गरे । तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै गृहमन्त्री लेखकले भने ‘यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि जानकारी गराउँछु ।’