इटहरी : कोसी प्रदेश सरकारले नीति तथा कार्यक्रममा पर्यटन वर्ष २०८२ लाई प्राथमिकतामा राखेको छ । एक खानेपानीको विकास गर्न घर एक धारा लागू गर्ने नीति लिएको सरकारले कृषिमा यान्त्रीकरण गर्ने बताएको छ ।
सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेको २०८२/०८३ को नीति तथा कार्यक्रममा कृषि, पशुपन्छी र मत्स्य क्षेत्रमा जोड दिइएको छ । अनुभव र ज्ञान हासिल गरेका व्यावसायिक कृषकमार्फत सेवा प्रवाह र क्षमता अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । उद्यमशीलता जागृत गर्न 'कृषक सबैभन्दा अगाडि' भन्ने अवधारणालाई कार्यान्वयन गर्न कृषक केन्द्रित अभियान सञ्चालन गर्ने सरकारको योजना छ ।
नवप्रवर्तनमा आधारित उद्योगको स्थापनामा जोड दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले त्यसको अध्ययन तथा अनुसन्धान गरी स्टार्टअप उद्यम कार्यक्रम सञ्चालनमा ल्याउने भएको हो ।
रोजगारीको लागी ग्रामीण क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्दै एक निर्वाचन क्षेत्र एक विशिष्ट उद्यम कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । स्थानीय कच्चा पदार्थमा आधारित वस्तु र सेवाको उत्पादन, प्रवर्द्धन, प्रयोग र बजारीकरणमा जोड दिइने बताइएको छ ।
उद्योग प्रवर्द्धनका लागि प्रविधि, पूर्वाधार र अनुसन्धानमा लगानी वातावरणको सुनिश्चित गर्ने नीति सरकारले लिएको छ । झापाको केचनादेखि सगरमाथासम्म द्रुत मार्ग निर्माण गर्ने उल्लेख गरेको सरकारले रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएको छ ।