धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको धरान-१ स्थित भवनमा पूनःनिर्मित मिलेनियम सभा हल अब एयर कन्डिसन सहित वृहत् पार्टी प्यालेसमा रूपान्तरण भएको छ ।
यसअघि २०० जना क्षमताको हल पून:निर्माण पछि ४०० जनाको क्षमताको बनेको छ । स्टार होटेलको सभा हलको रूपमा फर्निसिङ गरिएको नयाँ हलले सभा, समारोह तथा विवाह भोजको स्तरीय सुविधा प्रदान गर्ने भएको छ ।
सङ्घको ४१ औँ साधारण सभाको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आज सोमवार पूनःनिर्मित भवनको उद्घाटन गरेका छन् ।
सङ्घका वाणिज्य सचिव किसन मास्केले हलको पुनः निर्माणमा भएको खर्च विवरण तयार नभएको बताउँदै अहिले सम्म ३० लाख रुपैयाँ खर्च भएको अनुमान गरे ।
साधारण सभाको अवसरमा यसपालि सङ्घले नेपाल पत्रकार महासङ्घका निवर्तमान सभापति जनकऋषि राई र वर्तमान सचिव विनय बाराकोटीलाई नगद ११/११ हजार रुपैयाँ सहित सम्मानित गरेको छ ।
सङ्घले प्रत्येक वर्ष सुनसरीको आर्थिक एवं पर्यटन क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान गर्दै आएका २ संचारकर्मीले सम्मान/पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष उक्त सम्मान वरिष्ठ पत्रकार हर्ष सुब्बा र खिलानाथ विश्वकर्मालाई प्रदान गरिएको थियो ।
सोही अवसरमा सङ्घले धरानका २ जना पुराना व्यवसायीलाई ‘लाइफ टाइम एचिभमेन्ट’ स्वरूप सम्मानित गरेको छ । सम्मानित हुनेमा निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ र दिपचन्द अग्रवाल छन् ।
निर्माण व्यवसायी श्रेष्ठले धरानलाई कार्यक्षेत्र बनाई सन् १९८० देखी निर्माण व्यवसाय सुरु गरेका थिए । अरनिको निर्माण सेवाका संस्थापक उनी नेपाल निर्माण व्यवसायी सङ्घका संस्थापक अध्यक्ष हुन ।
कपडा व्यवसायी दिपचन्द अग्रवाल दिपचन्द भवानी प्रसाद फर्मका संस्थापक हुन । ताप्लेजुङमा व्यवसाय सुरु गरेका उनले पछिल्लो कालखण्डमा धरानमा थोक कपडा व्यापार सुरु गरी पहाडी क्षेत्रमा कपडा, रेडिमेड पोसाकको व्यापारलाई निरन्तरता दिदैं आएका छन् ।
सुनसरी उद्योग वाणिज्य सङ्घबाट उत्पत्तिको प्रमाणपत्र लिएर औद्योगिक उत्पादन विदेश निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न योगदान गर्दै आएका ३ उद्योगलाई पनि सङ्घले सम्मानित गरेको छ । खनार स्थित रिलायन्स स्पिनिङ मिल्स, हनुमन्त ग्रुप र धरान स्थित सोही कथ्या उद्योगलाई सम्मान गरिएको हो ।
साधारण सभाको अवसरमा सङ्घले पूर्वी नेपालको कृषि उपज विदेश निर्यात तथा थोक व्यापार गर्न व्यवस्थित बजार सञ्चालन गर्दै आएको धरान स्थित कृषि उपज बजारलाई पनि सम्मानित गरेको छ ।
सङ्घले सुनसरीको उद्योग, व्यवसायीको हक, हित तथा उपभोक्ता बजार व्यवस्थित गर्न जिल्लाका हालका उपमहानगर, नगर र गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य सङ्घहरूलाई सम्मान पत्र प्रदान गरेको छ ।
सम्मान पत्र इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली, इनरुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र साह, झुम्का उद्योग वाणिज्य सङ्घका अध्यक्ष नविन चौधरी, वराह उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र साह, चतरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कट्टेल तरहरा उद्योग वाणिज्य सङ्घका सुदर्शन खड्का, खनार उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन ढकाल र दुहबी उद्योग वाणिज्य सङ्घलाई प्रदान गरिएको हो ।
sunsari sadharan sabha
patrakar samman