इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर २ कि ताजीना विष्टले टिकटकमा भिडियो पोष्ट गरेपछि प्रहरी कार्यालय पुगेर लिखित माफी मागेकी छिन् । इटहरीका मेयर हेमकर्ण पौडेललाई बाटो किन बनेन ? भन्दै प्रश्न गरेकी उनलाई इलाका प्रहरी कार्यालय इटहरीले बोलाएर लिखित माफी मगाएको हो ।
मेयर पौडेलको मानहानि भएको भन्दै सचिवालयले दिएको निवेदनको आधारमा उनलाई प्रहरीले झिकाएको थियो । टिकटकमा ‘कस्तुरी लेडि डन’को आइडीबाट उनले पोष्ट गरेको भिडियोमा मेयर पौडेललाई १४ अञ्चल, ७७ जिल्ला मध्येकै फटाहा मेयर भनेर आरोप लगाएकी थिइन् ।
मङ्गलवार इलाका प्रहरी कार्यालयमा भएको छलफलमा भिडियो डिलिट गर्न लगाएर लिखित माफी मगाइएको उनले बताइन् । आफूले मौखिक रूपमा हात जोडेर माफी माग्दा समेत धर नदिएर लिखित माफी माग्नुपरेको उनको भनाइ छ ।
लामो समयदेखि अलपत्र बनेको बाटोमा बर्खाको समय धेरै सास्ती भोग्नुपरेको भन्दै उनले आक्रोश पोखेकी थिइन् । बारम्बार मेयर पौडेल समक्ष गुनासो गर्दा समेत बाटो मर्मत नभएको कारण स्थानीयले धेरै दुःख पाएको उनको गुनासो छ । मेयर पौडेलले बहुबर्षे योजनामा परेको आश्वासन दिएर काम नगरेको बताएकी विष्टले सबैलाई आवाज उठाउन आह्वान गरेकी छिन् ।
यसअघि पनि मेयर पौडेल र उनको सचिवालयलाई प्रश्न गर्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय इटहरीले बोलाएर माफी मगाउने र केही घण्टा थुनामा राख्ने गरेको छ ।