धरान : भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शन पछि पहिलो पटक धरानमा आज शनिवार जेनजी कोणसभा भएको छ । भदौ २४ गते विध्वंसात्मक प्रदर्शनको क्रममा धरानमा पनि ठुलो क्षति भएकोले आजको कोणसभाप्रति सबैले चासो राखेका थिए ।

जेन-जी अगुवाहरू देखिएनन् 

जेन-जी युनाइटेड मुभमेन्टले ३ दिन अघि पत्रकार सम्मेलन आयोजना गरी कोणसभामा काठमाण्डौबाट  जेनजी अगुवाहरू पनि सहभागी हुने बताइएको थियो । कार्यक्रम संयोजक तारा श्रेष्ठले जेनजी अभियन्ताहरू रक्षा बम, सुदन गुरुङ, मिराज ढुङ्गाना पनि आउने बताएकी थिइन् ।

तर, सभामा पूर्व घोषित अगुवाहरूको उपस्थिति थिएन । प्रदर्शनमा घाइते भई एउटा खुट्टा गुमाएका झापाका राजेश पोर्तेल उपस्थित थिए । उनले राष्ट्रिय परिवर्तन पार्टी दर्ता गरेका छन् ।

प्रदेश संयोजकको विज्ञप्ति

धरानमा युनाइटेड मुभमेन्टले जेन-जी कोणसभा गर्ने पत्रकार सम्मेलनको समाचार प्रकाशित भएपछि कोसी प्रदेश संयोजक उपार्जन राई, सुनसरी संयोजक नवीन राईले प्रेस विज्ञप्ति प्रकाशित गरी धरानको कार्यक्रम जेन-जीको नभएको जनाएका थिए ।

उनीहरूले विज्ञप्तिमा कोणसभामा जेनजी अभियान्ताहरुको नाम दुरुपयोग गरेको आरोप लगाएका थिए । विज्ञप्तिमा ‘रक्षा बम, सुदन गुरुङ, मिराज ढुङ्गाना जस्ता जेनजी अभियन्ताहरू आउने भनी गलत हल्ला  फैलाएको भ्रम नपर्न आग्रह’ गर्दै सक्कली जेन्जी नभएको समेत उल्लेख गरेका थिए ।

जेन-जी एकताको लागि प्रदर्शन 

धरान भानुचौकमा आज भएको कोणसभा र प्रदेशका आयोजकहरूले भने उनीहरू ‘परिवर्तनको संवाहक जेन-जी’ भएको दाबी गर्दै जेन-जी एकताको लागि प्रदर्शन गरिएको बताएका छन् । कोणसभा अघि भएको र्‍यालीका प्रत्यक्षदर्शीहरुले जुलुसमा अधिकांश नयाँ युवाहरू देखिएको बताए ।

कोणसभामा जेनजी एकता समूह ‘परिवर्तनका लागि जेनजी’ अभियानले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म राष्ट्रिय जेन्जी एकता अभियान औपचारिक रूपमा सुरु गरेको उद्घोष गरिएको छ ।

र्‍याली भानुचोकबाट सुरु भई छाता चोक, पानी ट्याङ्की, कल्याण चोक, पुतली लाइन हुँदै भानुचोकमा कोणसभामा भएको थियो । जुलुसमा देश बनाउन हतियार होइन विचार चाहिन्छ, देश दुख्दा मौन नबसौँ, एक होऔँ, फुटेर होइन जुटेर, जेन्जी फर परिवर्तन, लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

घाइते र शहिद परिवार

कोणसभामा जेन–जी प्रदर्शनमा घाइते भएकाहरू, शहिद परिवारका प्रतिनिधिहरू राजेश पोर्तेल, शान्तनु शाकल, भूपेन्द्र खड्का, आशिष् चौधरी, आदर्श चौधरी, मञ्जु सरदार, अजय राई, नवेन्द्र कुमार मेवाहाङ र अस्मिता राई उपस्थित थिए । उनीहरूलाई सभामा सम्मान गरिएको थियो ।

सभामा जीवन बस्नेत, रिदुम्ना सुब्बा, अञ्जय बान्तवा, रिचन राई, ज्योतिका फुर्केली, विश्व राई, श्रीया पौडेल, दिया बोहोरा लगायतले बोलेका थिए ।

राजेश पोर्तेलले ‘राष्ट्रिय परिवर्तन पार्टी’ दर्ता भइसकेको जानकारी दिँदै सबै जेन्जीलाई पार्टीमा एकजुट हुन आह्वान गरे । उनले सबैलाई पार्टीमा आबद्ध भई आगामी फागुनमा हुने निर्वाचनमा होमिनु आग्रह गरे । उनले भने ‘चुनाव जिते मात्र जेनजीको माग पूरा हुन्छ, ।’

जेन-जी संयोजकको विरोध 

धरानको कोणसभा जेन–जीको नभएको भनी विज्ञप्ति दिएकोमा जेन-जी प्रदेश संयोजक उपार्जनको वक्ताहरूले विरोध गरे । उनीहरूले झुण्ड झुण्ड भएका जेनजिलाई पार्टी जस्तै बनाउन लागेको भन्दै 'एक झुण्डको संयोजक हु' भन्नेले कार्यक्रम बिथोल्न खोजेको आरोप सम्म लगाए ।

झुण्डको मानसिकता त्यागेर संयोजक एकताका लागि अभियानमा लाग्नु पर्ने आग्रह सहित उनीहरूको भनाई थियो ‘जेन–जी व्यर्थको झुण्ड नहोस् ।’

GenG