इटहरी : नेकपा एमालेका युवा नेता महेश बस्नेतले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको नाममा आतङ्ककारी गतिविधि भएको बताएका छन् । सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने कुनै क्रान्तिकारी नभएर आतङ्ककारी नै भएको उनले बताए ।
राष्ट्रिय युवासंघ नेपाल कोशी प्रदेश कमिटीले इटहरीमा आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्दै बस्नेतले आतङ्ककारीलाई छानीछानी नष्ट गर्नुपर्ने भनाइ राखे । अमेरिकाको टुइन टावरमा बम खसालेपछि ओसामा विन लादेनलाई अमेरिकाले कारबाही गरेजस्तै नेशनल भोलेन्टियर फोर्सले सिंहदरबार जलाउने आतङ्ककारीलाई कारबाही गर्ने उद्घोष गरे ।
जनेजी आन्दोलनपछि पार्टी माथि आक्रमण भइरहेको बताउँदै एमालेले पुष्पराज श्रेष्ठलाई कमान्डर बनाएर आइतबार फोर्स गठन गरेको हो । कोशी प्रदेशलाई भारतमा मिसाउने खेल भएको आरोप लगाउँदै बस्नेतले सप्तरीमा मुस्लिम र हिन्दु, धरानमा हिन्दु र क्रिश्चियन र पहिचानको नारा चर्काएर देश टुक्र्याउन खोजिएको बताए ।


































































