धरान : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले वर्तमान सत्ता संरचना राष्ट्रिय स्वतन्त्रता सार्वभौमिकता र जनअधिकार माथि बाह्य शक्तिहरूको प्रभावको भएको जनाउँदै मुलुकको राजनीतिलाई निकास दिन संयुक्त सरकार आवश्यक भएको बताएको छ ।

धरानको भानुचोकमा आइतबार कोणसभामा उक्त पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी सरलले भने ‘वर्तमान सरकार कठपुतली सरकार हो ।’ उनले स्वाधीन संयुक्त सरकार गठन नै अहिलेको राजनीतिक निकास भएको बताए ।

सुनसरी सचिवालय सदस्य रवि किरण तामाङले भने ‘श्रम संस्कृतिको नाममा देखावटी गतिविधि भइरहेको छ ।’ उनले देशमा श्रम संस्कृतिको आवश्यकता छ तर त्यो ठोस श्रम आन्दोलन सञ्चालन गरिनुपर्ने बताए ।

सभामा जारी अपिलमा भ्रष्टाचार, कालोबजारी, मानव तस्करी, अनियमितता, ठगी, घुसखोरी, हत्या लगायतका गतिविधिहरू बढ्दै गएको उल्लेख छ । पार्टीले पछिल्लो समय युवाहरूले उठाएका भ्रष्टाचार विरोधी र सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्धका आन्दोलनमा राज्यबाट दमन भएको आरोप लगाएको छ ।