धरान : नेपाली काँग्रेसले फागुन २१ गते हुने गरी घोषित प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने निर्णय गर्दै तर निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसकेकोले परिस्थिति अत्यन्त गम्भीर रहेको जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्यसमितिको शनिवार सम्पन्न बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै जारी प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।
चुनावमा भाग लिने निर्णयका साथै काँग्रेसले विद्यमान परिस्थितिको उल्लेख गर्दै भनेको छ ‘निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नु र यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली काँग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’
वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली काँग्रेस निर्वाचनमा भाग लिने निर्णय गरेको छ।’
विज्ञप्तिमा निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ ।’ तर हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठुलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था सिर्जना हुन नसकेको उल्लेख छ ।
काँग्रेसले भदौ २४ मा भएको आक्रमण, लुटपाट र आगजनी सहितका विध्वंसकारी घटनाको सत्य-तथ्य र निष्पक्ष छानबिन गरी कानुन बमोजिम कारबाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्ति सहित न्याय उपलब्ध गराउन नेपाली काँग्रेस पुनः सरकारसँग माग गरेको छ ।
घटनाक्रममा लुटिएका सुरक्षाकर्मीका हातहतियार, वर्दी तथा सुरक्षा सामग्रीहरू तत्काल फिर्ता गराउनु, विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई पुनः नियन्त्रणमा ल्याउन तथा तोडफोड र आगजनीबाट ध्वस्त गरिएका प्रहरी कार्यालय सहित सबै सरकारी संरचनाहरूको शीघ्रातीशीघ्र पुनर्निर्माण गरी समाजमा शान्ति-सुरक्षाको प्रत्याभूति प्रदान गर्न सरकारसँग काँग्रेसले माग गरेको छ।