इटहरी  : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुनसरीमा विशेष भेलाको आयोजना हुने भएको छ । जिल्ला अध्यक्ष उज्ज्वल सिग्देललाई हटाउने गरी भेला आयोजना हुन लागेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जालमा लेखेको र जेनजी आन्दोलनलाई बल पुर्‍याएको विषयमा सिग्देललाई हटाउने तयारीमा नेताहरू लागेका छन् ।

सुनसरीको धरानमा मङ्सिर २४ गते बुधवार आयोजना हुने भेलाले सिग्देललाई हटाएर शेखर रेग्मीलाई अध्यक्ष बनाउने भएको छ । नेकपा एमाले सुनसरीका सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज गङ्गाबहादुर खड्का (जिबी गजल) का अनुसार मेची महाकाली जागरण यात्राको कार्यक्रम आयोजना गरिएको हो । सोही जागरण कार्यक्रमको अवसरमा विशेष भेला समेत गर्न लागिएको उनको भनाइ छ ।

अध्यक्षलाई कारबाही नै गर्ने भन्ने विषयमा ठोस निर्णय नभएको बताउँदै उनले भेलाले गर्ने निर्णयका आधारमा अनेरास्ववियु अगाडी बढ्ने बताए । विद्यार्थी सङ्गठनलाई जागरूक बनाउने र एमाले विरुद्ध गरिएका षड्यन्त्रलाई परास्त गर्न जागरण कार्यक्रम गर्न लागिएको गजलको दाबी छ ।

जेनजी आन्दोलनको नाममा आतङ्क भएको भन्दै नयाँ पुस्तालाई विद्यार्थी आन्दोलनमा जोड्न एमाले सक्रिय रहेको उनले प्रस्ट पारे ।

सिग्देल अनेरास्ववियुको २३ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए । उद्घाटन पछि निर्वाचनमा जानुपर्ने मागलाई बेवास्ता गर्दै अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका तत्कालीन कोशी प्रदेश अध्यक्ष गजलले बन्द सत्र स्थगित गरेका थिए । सिग्देललाई सर्वसम्मत बनाउन अधिकतम प्रयास गरेका गजलले पार्टी नेतृत्व र विद्यार्थीहरूलाई सहमत गराउन लामो समय लगाए ।

लामो रस्साकस्सी पछि अध्यक्ष बनेका सिग्देललाई हटाउन उनै गजलले भेला बोलाएका हुन् । जिल्ला भेला भए पनि अध्यक्ष सिग्देल सहभागी नहुने भएका छन् । जेनजी आन्दोलनमा युवा विद्यार्थीको हत्या भएपछि आक्रोशित बनेका सिग्देलले तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।

ओलीले हत्याको जिम्मेवारी लिनुपर्ने र विद्यार्थीको लासमाथि चढेर प्रधानमन्त्री भएर बस्नु लाजमर्दो भएको भन्दै टिप्पणी गरेका थिए । जेनजी आन्दोलनलाई समर्थन गरेका उनले ओली प्रवृत्तिको विरोध गरिरहेका छन् ।

अनेरास्ववियु ओलीलाई भगवान् मान्ने गुटको सङ्गठन भएको उनको आरोप छ । विद्यार्थी हत्याको विरोध गर्न नसक्ने अवस्थामा सङ्गठनलाई पुर्‍याउनु गलत भएको भन्दै व्यक्तिवादी चरित्रको विरोधमा सदैव लाग्ने उनको भनाइ छ ।

यसअघि केन्द्रीय अध्यक्ष सुजन कडरियालाई समेत कारबाही गरेर दीपक धामीलाई अध्यक्ष बनाइएको छ । महासचिव रहेका धामीलाई अध्यक्ष चयन गरेर महासचिवको जिम्मेवारी उपाध्यक्ष रहेकी अञ्जना सिवाकोटीलाई प्रदान गरियो ।

जेनजी आन्दोलनमा सहयोग गरेको र सामाजिक सञ्जालमा राजीनामा दिएको भन्दै कडरिया कारबाहीमा परेका हुन् ।