धरान : नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ ले आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फकालागी उमेश  थापा सहित आठ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारका नाम आकाङ्क्षी नेताहरूको नाम वर्णानुक्रमका आधारमा क्रमबद्ध गरी सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला सङ्घ जिल्ला सदस्य रुक्मिणा गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ अनुपमा सुनुवार, डा. आनन्द आचार्य, उर्मिला प्रधान, कृष्णकला मादने, डा. गोविन्द सुब्बा, गोविन्द बस्नेत, विश्वराज भण्डारी, मिना सुब्बा, मिना पुलामी, रामबहादुर परियार, श्यामा रेग्मी, सुवास राई र सचित शर्माको नाम सिफारिस गरिएको छ।

यस्तै, माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमा वास्तोला, काशीराम चौधरी, गिरिराज आचार्य, गोविन्द दर्नाल, चन्द्रप्रसाद श्रेष्ठ, जगतबहादुर कार्की, प्रेमप्रसाद पौडेल, भिष्म काफ्ले, लक्ष्मी खतिवडा, हर्ष सुब्बा, हरिनाथ वास्तोला र हेमलाल सुब्बाको नाम प्रस्ताव गरिएको छ।

बैठकले सिफारिसमा परेका नेताहरूले आगामी प्रदेशसभा र स्थानीय तह निर्वाचनमा उम्मेदवारी दाबी गर्न नपाउने निर्णय समेत गरेको छ। पार्टीभित्र अवसरको समानता र न्यायपूर्ण सहभागिताका लागि यस्तो व्यवस्था गरिएको जनाइएको छ।

सिफारिस प्राप्त नामहरूबीच सहमति जुटाएर सर्वसम्मत एकल नाम छनोट गर्न प्रदेश सांसद, क्षेत्रीय तथा नगर नेतृत्व समेटिएको संयोजन समिति गठन गरिएको छ।

त्यसैगरी, पार्टी छाडेर गएको तथा निष्क्रिय बनेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने उद्देश्यले अर्को समिति पनि गठन भएको छ।बैठकले काँग्रेस नेता विनोद घिमिरेको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।