धरान : सुनसरी र धनकुटाकाे सीमामा पर्ने पर्यटकिय स्थल भेडेटारमा १३ औँ भेडेटार फुड फेस्टिभलको तयारी सुरू भएकाे छ। भेडेटारमा साना, मध्यम तथा तारेस्तरका सहित करिब २०० होटेल पूर्ण रूपमा सञ्चालनमा छन्।
हरेक बर्ष आयोजना हुने फुड फेस्टिभलले भेडेटारमा जातीय तथा अर्ग्यानिक खानाको प्रवर्द्धनका साथै होटेल, होमस्टे र समग्र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको होटेल एसोसिएसन भेडेटारले जानकारी दिएकाे छ। बुधबार पत्रकार सम्मेलन गर्दै १३ औँ भेडेटार फुड फेस्टिभलको आयोजना र तयारीबारे जानकारी दिएको हाे।
एसोसिएसनका अनुसार फुड फेस्टिभल पौष १६ देखि १८ गतेसम्म सञ्चालन हुनेछ। फेस्टिभलमा ३० हजारदेखि ५० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको छ।
फेस्टिभलका मुख्य आकर्षण
आयोजकले दिएकाे जानकारी अनुसार फेस्टिभलमा जातीय खानाको प्रदर्शनी, अर्ग्यानिक तरकारी तथा फलफूल, हस्तकला र घरेलु उत्पादनको स्टल, मौलिक सांस्कृतिक झाँकी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ। साथै माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइनजस्ता साहसिक पर्यटन गतिविधि पनि समावेश गरिएका छन्।
भेडेटारको पर्यटन पूर्वाधार
होटेल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष लीला राज लावतीका अनुसार भेडेटार क्षेत्रमा ५०-६० वटा साधारण, ५०-६० वटा मध्यमस्तरीय र ८–१० वटा तारे होटेल सञ्चालनमा छन्। नाम्जे र डाँडा बजारका होमस्टेमा एकै पटक ४०० देखि ५०० पर्यटक अटाउन सक्ने क्षमता रहेको छ।
हाल भेडेटारमा लार्लीबसा र रिडी रिसोर्टजस्ता उच्चस्तरीय होटेल सञ्चालनमा छन् भने १५ देखि २० करोड रुपैयाँ लगानीको एशियाटिक होटेल निर्माणाधीन अवस्थामा छ। यी पूर्वाधार सम्पन्न भएपछि भेडेटारमा वार्षिक १ लाख ५० हजारदेखि २ लाख पर्यटक आगमन हुने अपेक्षा गरिएको छ।
होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले फुड फेस्टिभलले स्थानीय जातीय र अर्ग्यानिक खानाको प्रवर्द्धनसँगै होटेल, होमस्टे र पर्यटन व्यवसायलाई थप चलायमान बनाएको बताए। “यसले भेडेटारको पर्यटन ब्रान्डलाई अझ मजबुत बनाएको छ,” उनले भने।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा रहेको भेडेटार समुद्री सतहबाट १४२० देखि १७०५ मिटर उचाइमा अवस्थित छ। प्राकृतिक सौन्दर्य, चिसो मौसम र विविध पर्यटकीय आकर्षणका कारण यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ।
कृषि मेला प्रदर्शनी पनि सञ्चालन हुने
फुड फेस्टिभलको अवसरमा साँगुरीगढी गाउँपालिकाको कृषि विकास शाखामार्फत कृषि मेला प्रदर्शनी सञ्चालन गरिनेछ। गाउँपालिकाभित्रका कृषकहरूले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राख्न सक्नेछन्।
फेस्टिभलका मुख्य आयोजक होटेल एसोसिएसन भेडेटार हुन् भने सह–आयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन्। मुख्य प्रायोजकका रूपमा गोर्खा ब्रुअरी र नेपाल पर्यटन बोर्ड रहेका छन्।
फेस्टिभलमार्फत करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ।


































































