धरान : १३ औँ भेडेटार फुड फेस्टिभलले पर्यटन बजार तताउँदै भेडेटारमा साना, मध्यम र तारे स्तरका २०० होटेल पूर्ण सञ्चालनमा भएका छन्।
फेस्टिभलले जातीय र अर्ग्यानिक खानाको प्रवर्द्धन मात्र होइन, होटेल, होमस्टे र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको हो। होटेल एसोसिएसन भेडेटारले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
एसोसिएसनका अनुसार फुड फेस्टिभल पौष १६ देखि १८ गतेसम्म चल्नेछ र करिब ३० हजारदेखि ५० हजार पर्यटकको सहभागिता रहने अपेक्षा छ।
फेस्टिभलका मुख्य आकर्षण :
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षण गर्न फेस्टिभलमा जातीय खानाको प्रदर्शनी,अर्ग्यानिक तरकारी र फलफूल,हस्तकला र घरेलु उत्पादन, मौलिक सांस्कृतिक झाँकी,स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति,माउन्टेन बाइक, प्याराग्लाइडिङ र जिप लाइन रहेका छन् ।
भेडेटारमा पर्यटक पूर्वाधार :
होटेल एसोसिएसन भेडेटारका पूर्व अध्यक्ष लीला राज लावतीले भेडेटारमा करिब ५०–६० साधारण, ५०–६० मध्यम र ८–१० तारे होटेल सञ्चालनमा रहेको बताए। नाम्जे र डाँडा बजारका होमस्टेहरूमा एकै पटक ४००–५०० पर्यटक अटाउन सक्ने क्षमता रहेको छ।
हाल भेडेटारमा लार्लीबसा र रिडी रिसोर्ट जस्ता उच्चस्तरीय होटेल सञ्चालनमा छन् भने १५–२० करोड रुपैयाँ लगानीको एशियाटिक होटेल निर्माणाधीन छ। यी होटेलहरू बनेपछि भेडेटारमा वार्षिक १ लाख ५० हजारदेखि २ लाख पर्यटक आउने अपेक्षा गरिएको छ।
होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बुले भने,“फुड फेस्टिभलले स्थानीय जातीय र अर्ग्यानिक खानाको प्रवर्द्धनसँगै होटेल, होमस्टे र पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको छ। यसले भेडेटारको पर्यटन ब्रान्डलाई अझ मजबुत बनाएको छ।”
भेडेटार, धनकुटाको साँगुरी गढी गाउँपालिका–६ मा समुद्री सतहबाट १४२०–१७०५ मिटर उचाइमा रहेको छ।प्राकृतिक सौन्दर्य, चिसो मौसम र विविध पर्यटकीय आकर्षणका कारण यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ।
कृषि मेला प्रदर्शनी
फुड फेस्टिभलको अवसरमा साँगुरी गढी गाउँपालिकाको कृषि विकास शाखा मार्फत कृषि मेला प्रदर्शनी सञ्चालन हुनेछ। गाउँपालिकाका कृषकले आफ्ना उत्पादन प्रदर्शनीमा राख्न सक्नेछन्।
फेस्टिभलका मुख्य आयोजक होटेल एसोसिएसन भेडेटार हुन् भने सह–आयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह रहेका छन्। मुख्य प्रायोजक गोर्खा ब्रुअरी र नेपाल पर्यटन बोर्ड हुन्।
फेस्टिभलमार्फत करिब २ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार लक्ष्य राखिएको छ।


































































