इटहरी : नेकपा एमालेमा फाल्गुन २१  मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार सिफारिसको काम धमाधम भइरहेको छ । क्षेत्रीय कमिटीबाट जिल्ला र प्रदेश हुँदै केन्द्रमा पठाउने गरी तयारी भएको हो । 
सोही क्रममा आइतबार सुनसरीका ४ वटै निर्वाचन क्षेत्रको क्षेत्रीय कमिटीले नाम सिफारिस गरिसकेको छ । क्षेत्र नम्बर ४ मा पूर्व प्रदेश मन्त्री जगदीश कुसियैतको नाम सर्वसम्मत हुँदा क्षेत्र नम्बर २ मा सबैभन्दा बढी नेताहरूको नाम सिफारिस भयो । २ नम्बर क्षेत्रमा कुसियैत सहित अन्य १७ जनाको नाम सिफारिस भएको छ । 
युवासंघ कोशी प्रदेश संयोजक सुजन लामा र अनेरास्ववियु कोशीका पूर्व अध्यक्ष जिबी गजलको नाम समेत सिफारिसमा परेको छ । इटहरीका युवा नेताहरू दुवैले नयाँ पुस्ताको नेतृत्व गर्न सक्षम रहेको बताएका छन् । युवा पुस्ताको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा जाने योजनाको साथ आफू तयार रहेको गजलले बताए । २ नम्बरबाट सिफारिसमा परेकी पूर्व केन्द्रीय सदस्य लक्ष्मी गौतमले भने दाबेदारी फिर्ता लिएकी छिन् । 
यसअघि नेकपा एमालेको गढ नै मानिएको सुनसरी जिल्लाको क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य मञ्जु भण्डारी सहित अन्य ७ जनाको नाम सिफारिस परेको छ । जसमा जयकुमार राई, लहरुमाया जिमी, इन्द्रकुमार राई, टिका लिम्बु, राजेन्द्र कार्की, सूर्य पन्धाक र नारायण सुवेदीको नाम छ ।
जयकुमार यसअघि प्रतिनिधिसभा सदस्य समेत हुन् । अघिल्लो पटक जसपा सँगको गठबन्धनमा एमालेले अशोक राईलाई सघाउँदा जसकुमार उम्मेदवार बन्न पाएनन् ।
सुनसरी ३ बाट भगवती चौधरी र तयब हुसेनसहित ४ जनाको नाम सिफारिस भएको छ । निवर्तमान संसद् चौधरीले नेपाली काँग्रेसका विजय कुमार गच्छदारलाई पराजित गरेकी थिइन् । ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चौधरी विजयी हुँदा हुसेन पराजित भएका थिए ।