धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष, धरान नगरप्रमुख हर्क साम्पाङको अभियानका श्रमदाता गोविन्द श्रेष्ठ र उनका छोरा अशेष श्रेष्ठको कुटपिटका कारण ज्वाइँको मृत्यु भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानले जनाए अनुसार मृतक प्रेम राईकी आमा कमला राईले सोमबार गोविन्द श्रेष्ठ र उनका छोरा अशेष श्रेष्ठ विरुद्ध किटानी जाहेरी दिएपछि बाबु छोरालाई पक्राउ गरिएको हो ।
जाहेरीमा कुटपिटका कारण प्रेम राईको मृत्यु भएको दाबी गरिएको छ । छिमेकीहरूले श्रमदाता गोविन्द श्रेष्ठ र उनका छोराले ज्वाइँ प्रेम राईलाई मरणासन्न हुने गरी कुटपिट गरेको  बताएका छन् ।
मृतककी आमा कमला राईले भनिन् ‘छोरालाई कुट्दै पछार्दै गरेको देखेकोले छुटाउन खोज्दा आफूलाई समेत छोरा सहित लडाई दिएको थियो ।’
छिमेकीहरूका अनुसार श्रेष्ठ परिवारले जबरजस्ती विवाह दर्ता गराइदिएको, छोरीलाई विदेश पठाएपछि ज्वाइँसँग सम्पर्क गर्न दिएको थिएन ।
मृतककी कान्छी बहिनीले पनि दाजुमाथि निर्घात कुटपिट भएको बताएकी छन् । उनका अनुसार कुटपिटको कारण जिउभरी नीलडाम देखे पछि दाजु प्रेम राईलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि लगिएको थियो । उनले दाजुको उपचारको क्रममा करिब आधा घण्टापछि मृत्यु भएको बताएकी छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले जाहेरी दर्ता भइसकेपछि दोषी आरोपितलाई पक्राउ गरिएको जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको सत्य तथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइएको छ ।
गोविन्द श्रेष्ठ श्रम संस्कृति पार्टीको धरान नगर सदस्य हुन । उनी विगत २ वर्ष देखि नगर प्रमुख साम्पाङको श्रमदान अभियानमा सक्रिय रहँदै आएका छन् ।
prem rai