इटहरी : सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

पछिल्लो समय धार्मिक तथा सामाजिक रूपमा विभिन्न अराजक गतिविधि भइरहेको प्रति चिन्ता व्यक्त गर्दै शान्ति, संयतता र सामाजिक सद्भावको अपिल गरेका हुन् ।

गाउँपालिकाको अध्यक्षको हिसाबमा बुधवार शान्ति, सद्भाव र सामाजिक एकताको लागि अपिल जारिगर्दै उनले हिंसा, उक्साहट र घृणा कुनै पनि धर्म, संस्कृति र परम्पराको मूल्य नभएको बताएका छन् । पछिल्लो समय केही असहज परिस्थिति सृजना हुँदै गएको उल्लेख गर्दै कुनै पनि अवाञ्छित गतिविधिको जिम्मेवारी समुदायले बहन नगर्ने बताए ।

तीन बुँदे अपिल जारी गरेका उनले कुनै पनि अपुष्ट सूचना, अफवाह वा घृणाजन्य अभिव्यक्तिमा विश्वास नगर्न र सामाजिक सञ्जालमा जिम्मेवार व्यवहार गर्न आग्रह गरेका छन् । धार्मिक स्थल, सार्वजनिक सम्पत्ति र सामाजिक सद्भावमाथि आँच पुर्‍याउने कुनै पनि गतिविधि नगर्न उनको अनुरोध छ ।

‘कुनै पनि समस्या, असहमति, वा गुनासो भए संवाद र कानुनी माध्यमबाट समाधान खोज्नुहोस् । कानुन हातमा लिने कार्य स्वीकार्य हुँदैन,’ अपिलको अन्तिम बुँदामा उनले भनेका छन् । धार्मिक अगुवा, नागरिक समाज तथा राजनीतिक दललाई समेत सकारात्मक सन्देश प्रवाह गर्न अन्सारीले अनुरोध गरेका छन् ।

harinagar gaupalika