धरान : पहिचानको मुद्दा अलपत्र छाडेर संयुक्त पहिचानवादी मोर्चा सहित कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा गएका डकेन्द्रसिंह लिम्बू फेरी मोर्चामा फर्केर देश सङ्कटमा भएकोले नयाँ दलहरूलाई पहिचानको मुद्दामा एकीकृत हुन आव्हान गरेका छन् ।
उनी सहित पहिचानवादीहरू उज्यालो नेपाल पार्टीमा गएपछि त्यो पार्टीको पहिचानप्रति स्पष्ट धारणा नभएकाले डकेन्द्र स्वयंले पहिचानको मुद्दा छोडेको आरोप लागेको थियो । लगत्तै उज्यालो नेपाल पार्टी नै सङ्घीयताकै विरोधी रास्वपामा मिलेपछि पहिचानवादी नेताहरूको आलोचना तीव्र बनेको थियो ।
कुलमान घिसिङ रास्वपाबाट बाहिरिए पनि तितर वितर भएका नेताहरू मध्ये डकेन्द्र पुरानै संयुक्त पहिचानवादी मोर्चामा फर्किएका हुन । उनले मोर्चाका अध्यक्षमण्डल सदस्यको हैसियतबाट पहिचानको मुद्दामा एकीकृत हुन सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक अपिल गरेका छन् ।
लिम्बुले लेखेका छन् ‘देश गम्भीर सङ्कटमा रहे पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समावेशी समानुपातिकता र पहिचानको पक्षमा हाम्रो प्रतिबद्धता कमजोर छैन ।’
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समावेशी समानुपातिकता र पहिचान नै हाम्रो मूल आधार भएको उल्लेख गदै भनेका छन् ‘मुद्दा र एजेन्डा छोडेर क्षणिक एकताको नाममा हुने कुनै सम्झौता स्वीकार्य छैन। पहिचानको मुद्दामा स्पष्ट रूपमा एकीकृत होऔँ ।’
डकेन्द्र प्रदेश नं. १ पुनः नामाङ्कन अभियानका संयोजक समेत हुन । किराँत धर्म तथा साहित्य उत्थान सङ्घको अध्यक्षका रूपमा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय छन् । उनी पहिचान आन्दोलनका अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिएका थिए ।
उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवार बनेका लिम्बुले ११ हजार ५ सयभन्दा बढी मत प्राप्त गरेका थिए । पछिल्लो समय नयाँ राजनीतिक दलहरूको निर्माण र पहिचानवादी मानिएका नेताहरूको दलीय आकर्षणमा डकेन्द्र पनि तरल बनेपछि उनको छविमा प्रश्न उठेको थियो ।
उज्यालो पार्टीको केन्द्रीय सदस्य रहेका उनले रास्वपासँगको विलय प्रक्रियाले पहिचानको एजेन्डामा दुवै दल स्पष्ट नदेखिएको निष्कर्ष निकाल्न पुगेको उनका निकटहरू बताउँछन् । त्यही निष्कर्षको रूपमा उनले पहिचानवादी शक्ति एकीकृत गर्न फेरी मोर्चामा फर्किएको सन्देश फेसबुक मार्फत दिएको बुझिएको छ ।



































































