धरान : पहिचान पक्षधर अभियन्ताहरूले आउँदो प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई पहिचानको मुद्दा केन्द्रित आन्दोलनको रूपमा उपयोग गर्नु पर्नेमा बताएका छन् ।
किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशनको आज शनिवार धरानमा आयोजित उद्घाटन समारोहमा उनीहरूले मुलुकमा अहिले पनि आन्दोलनका अवस्था विद्यमान रहेकोले अबको आन्दोलनलाई पहिचानको मुद्दा केन्द्र बनाउन जोड दिनु पर्ने उनीहरूले बताएका हुन ।
मुक्कुमलुङ नो केबलकार आन्दोलनका संयोजक श्री लिङखिमले मुलुकमा जुन भ्रष्टाचार, बेथितिको विरुद्ध जेन–जी आन्दोलन भयो त्यसमा पहिचानका पक्षमा भएको विरोध र सङ्घर्षहरू पनि सामेल भएको नेतृत्व तहले स्वीकार गरेको बताए ।
उनले भने ‘जेन–जी नेतृत्वले प्रदेश नामकरणको नो कोशी आन्दोलन र मुक्कुमलुङमा नो केबुलकार आन्दोलन समर्थन गरेका छन् ।’ जेन–जी आन्दोलनकै परिणाम स्वरूप फागुन २१ गत हुन लागेको चुनावलाई पहिचानको मुद्दा केन्द्रित बनाउने नीति तथा कार्यक्रम तय गरी अघि बढ्नु पर्ने उनले बताए ।
संयुक्त पहिचानवादी मोर्चाका अभियन्ता अशोक नेम्वाङले मुलुकको राजनीति अहिले कुन दिसामा अघि बढ्दै छ स्पष्ट नभै आन्दोलनै अवस्थामा हुने चुनावलाई पहिचानको मुद्दामा केन्द्रित गराउन जरुरी भएको बताए ।
परम्परागत राजनीतिप्रति आक्रेशीत जनभावना, भ्रष्टाचार विरोधी आन्दोलनको रूपमा आगामी चुनाव हुन गइरहेकाले पहिचानवादीको पक्षमा चुनावी लहर पैदा गर्न जरुरी भएको उनले बताए । नेम्वाङले भने ‘पहिचानवादी संयुक्त मोर्चामा चुनावमा सञ्चालन गरिने अभियानबारे छलफल भइरहेको छ ।’
उज्यालो पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले अबको सडक आन्दोलनले पहिचानवादीलाई चुनावबाट संसद सम्म पुर्याउने मात्र नभई संसदसमा अधिकारका लागि कुर्सी तोडफोड गर्ने सम्मको लहर ल्याउनु पर्ने बताए ।
नो कोशी आन्दोलनका ३ अगुवा सम्मानित
अधिवेशन उद्घाटन समारोहका बिच ‘नो कोशी आन्दोलन’का ३ जना नेतृत्वदायी चुम्लुङका जिल्ला अध्यक्षलाई सम्मानित गरियो । प्रदेश सरकारले ‘कोशी’ प्रदेश नामकरणको प्रस्ताव ल्याउन अघि विराटनगरमा सडक आन्दोलन भएको थियो । आन्दोलनकै कारण प्रदेश नामकरण स्थगन भएको थियो ।
त्यस बेला देखी पछिल्लो संयुक्त आन्दोलन सम्म किरात याक्थुङ चुम्लुङ जिल्ला समितिबाट साधन, श्रोत र व्यापक जनपरिचालन गर्न अग्रणी जिल्ला अध्यक्षहरूको रूपमा उनीहरूलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरूमा किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्लाका तत्कालीनअध्यक्ष मोहनकुमार हुक्पाचोङबाङ, चुम्लुङ झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाक र चुम्लुङ मोरङ जिल्ला अध्यक्ष कुरुम्बाङ छन् ।
सम्मानित त्रयलाई उद्घाटन समारोह प्रमुख अतिथि चुम्लुङ संस्थापक सदस्य नरप्रसाद लिम्बुले ढाकाको दोसल्ला ओढाएर सम्मानित गरेका थिए । समारोहका सभापति चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष डा. मधुराज केरुङले सम्मान पत्र प्रदान गरेका थिए ।
आजै नयाँ कार्यसमिति चुनाव
धरान–१५ चुम्लुङ हिममा जारी लिम्बुवान प्रदेश अधिवेशनले आज साँझ नै नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्वाचन समिति संयोजक डा.कमल तिगेलालले बताए । उनका अनुसार सम्भवतः नयाँ समिति सर्वसम्मत चयन हुने सम्भावना छ ।
चुम्लुङ विधान अनुसार प्रदेश अधिवेशनमा लिम्बुवानका ९ जिल्ला समितिबाट २/२ जना प्रतिनिधि, केन्द्रीय समिति सदस्यहरू, राष्ट्रिय चुम्लुङ सदस्यहरू, २९ सदस्यि प्रदेश समिति, १२ प्रदेश समिति सल्लाहकार सहित करिब १४० जना सहभागी हुने व्यवस्था छ ।
उद्घाटन समारोहमा प्राडा.मोहनकुमार लिम्बु, चुम्लुङ केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बु, राष्ट्रिय चुम्लुङ सदस्य नरेशकुमार इङवारम लगायतले शुभकामना प्रकट गरेका थिए । स्वागत भाषण प्रदेश उपाध्यक्ष टङ्कमाया लिम्बुले गरेकी थिइन् । कार्यक्रम प्रदेश महासचिव नरेन्द्र केरुङले सञ्चालन गरेका थिए ।