धरान : लिम्बु/याकथुङ मातृभाषा नेपालको इतिहास, संस्कृति, ज्ञानको श्रोत भएकोले पछिल्लो समय विद्यालय तहमा यसको पठन पाठन हुन थालेको किरात याकथुङ चुम्लुङका अगुवाहरूले बताएका छन् ।
लिम्बु भाषा, किरात सिरिजंगा लिपि १५ दिने प्रशिक्षणको आज बिहीबार बिहान आयोजित उद्घाटन कार्यक्रममा चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले लिम्बु भाषा, लिपि नेपालको संस्कृति, इतिहास र मुन्धुमी ज्ञानको श्रोत रहेको बताए । 
उनले भने ‘लिम्बु भाषा लिपिको ठुलो महत्त्व भएकाले पछिल्लो समय काठमाडौँ विश्वविद्यालय स्नातकोत्तर तहमा पढाई हुने भएको छ ।’ यसको महत्वकै कारण भाषा आयोगद्वारा प्रदेश नं १ मा सरकारी कामकाजको भाषामा लिम्बु भाषालाई सिफारिस गरिएको उनको भनाई छ । 
राणा शासनकालमा राजनीतिक दमनसँगै लिम्बु भाषा लिपिलाई नामेट गरिएता पनि याकथुङ÷लिम्बु भाषा लिपि समाप्त गर्न नसकिएको बताउँदै नेपालका मातृभाषा लिपिमा लिम्बु भाषा लिपि लेख्य परम्परा र बोलीचालीमा रहेको जीवन्त भाषा भएको बताए ।
चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बाले लिम्बु भाषा लिपि समृद्ध भए पनि पछिल्लो समय मातृभाषा बोल्न र लेख्न सक्ने लिम्बु पुस्ता घट्दै जानु सांस्कृतिक विचलनको करण भएको बताइन् । उनले लिम्बु जाति भन्ने तर आफ्नो भाषा, लिपिमा नाम लेख्न र भन्न सम्म नआउनेहरूले प्रशिक्षणबाट कमसेकम नाम लेख्न सक्ने बनाउन प्रशिक्षकहरूसँग आग्रह गरिन् ।
चुम्लुङ पूर्व सुनसरी जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले लिम्बुवानको पहिचानका लागि आन्दोलनमा रहेको चुम्लुङ भाषा, लिपिको संरक्षण र अधिकार प्राप्तिको आन्दोलनमा रहेको बताए । नगर समितिले आयोजना गरेको प्रशिक्षण त्यसेको अङ्ग भएको उनको भनाई थियो ।
प्रशिक्षण चुम्लुङ धरान उपमहानगर समितिले धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरेको हो । उद्घाटन कार्यक्रमको सभापतित्व गरेका नगर अध्यक्ष तीर्थ मादेम्बाले यसपालीको प्रशिक्षण तिन चरणमा सञ्चालन गरिएको बताए ।
मादेम्बाको अनुसार पहिलो चरणमा लिम्बु भाषा बोल्न जान्ने र लिपिमा लेख्न सक्नेहरूलाई आधारभूत भाषा तथा लिपि लेखन प्रशिक्षण दिइने छ । दोस्रो र तेस्रो चरणमा छलफलमुखी सिरिजंगा सक वर्ण, कक्षा ६,७ र ८ कक्षाको पाठ्य पुस्तकको संक्षेपकृत प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन परीक्षा समेत सञ्चालन हुनेछ । 
उद्घाटन कार्यक्रममा स्वागत भाषण चुम्लुङ नगर सहसचिव सावित्री वनेम तथा सञ्चालन नगर सचिव विप्लव लिम्बुले गरेको थिए । धरान–१५ चुम्लुङमा माघ २२ गते प्रशिक्षण समापन हुनेछ ।
chumlung-1