धरान : नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री, प्रदेश सह–इन्चार्ज राजेन्द्र राईले पार्टीले धरानको खानेपानीको दीर्घकालीन योजना, सडक पूर्वाधार, सुकम्बासी समस्यालाई मुख्य मुद्दाको रूपमा लिएको बताएका छन् ।
धरान–३ स्थित सदन रोडमा आज सोमवार पार्टीको सुनसरी १ निर्वाचन सचिवालयको उद्घाटन कार्यक्रममा उनले भने "धरानको विकासको लागि पार्टीले केन्द्रसँग समन्वय भएका विकास योजनाहरू अघि बढाउने एजेण्डा हामीले जनता माझ लैजानु पर्छ ।"
उनले विगतका उम्मेदवारहरूले गरेका प्रतिबद्धता र अधुरा योजनाहरू पूरा गर्ने जिम्मेवारी नेकपाको काँधमा रहेको बताउदे   सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभामा विकासका मुद्दा प्रभाकारी ढङ्गमा उठाउन यहाँका उम्मेदवार मनोज भट्टराईलाई विजयी गराउन अपिल गरे।
राईले मुलुकको आवश्यकता अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग तालमेल तथा सहकार्य गरिएको जानकारी दिए।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य किरण राईले सुनसरी–१ मा पार्टीका उम्मेदवार मनोज भट्टराई राजनीतिक अनुभव र क्षेत्रगत प्रभावका आधारमा सबैभन्दा सबल उम्मेदवार रहेको दाबी गरे।
उनले मतदातालाई चुनाव चिन्ह ‘तारा’मा मतदान गरी भट्टराईलाई विजयी गराउन आग्रह गर्दै, भट्टराईको विजय कुनै एक व्यक्तिको मात्र नभई मुलुकको वर्तमान राजनीतिक सङ्कट समाधानका लागि आवश्यक रहेको बताए ।
निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका राईले सचिवालय मार्फत सुनसरी–१ मा नेकपाका उम्मेदवार मनोजलाई विजयी गराउन सम्पूर्ण निर्वाचन गतिविधि सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा उम्मेद्धवार भट्टराईको चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुनसरी–१ का विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता जनाए । 
उनले धरान विगतमा पर्यटकीय, सांस्कृतिक, शैक्षिक, खेलकुद तथा फेसन सहरको रूपमा परिचित रहेको स्मरण गराउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र महेन्द्र बहुमुखी क्याम्पसजस्ता संस्थाले देशका लागि दक्ष जनशक्ति उत्पादन गरेको बताए।
हाल धरानको शैक्षिक र सामाजिक वातावरण कमजोर हुँदै गएको र दुर्व्यसनजस्ता समस्या बढेको उल्लेख गर्दै ती समस्या समाधान गरी धरानको समग्र विकासमा केन्द्रित भएर उम्मेदवारी दिएको बताए।
उनले सुनसरी–१ का विकट क्षेत्रलाई सडक सञ्जालले जोड्ने प्रतिबद्धता व्यक्त गर्दै बाँझ गरा–नडाह–धरान, कालापानी–भल्लोचौर–विष्णु पादुका–धरान तथा पाञ्चायन–हरियाली सडक खण्डलाई आफ्नो कार्यकालमा पूर्णता दिने बताए।
त्यसै गरी विष्णु पादुका र चिण्डेडाँडाको पर्यटन प्रवर्द्धन तथा स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। भट्टराईले चुनावको बेला मात्र देखिने र जितेपछि हराउने प्रवृत्तिको अन्त्य गर्ने भन्दै हार–जित जे भए पनि सधैँ यस क्षेत्रका जनताको सुख–दुःखमा साथ रहने भावनात्मक प्रतिबद्धता जनाए।
धरान र सुनसरी–१ को गुमेको साख र अभिमान पुनर्जीवित गर्नु नै आफ्नो मुख्य जिम्मेवारी भएको उनले बताए।