इटहरी : यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमत पत्रको भवन साँघुरो भएको भन्दै फराकिलो स्थानमा सारिने भएको छ । कार्यालयले घर भाडा लिने सम्बन्धी सूचना नै प्रकाशित गरेर इटहरी चोक देखी २ किलोमिटर भित्र नयाँ घर खोजी गरेको हो ।

इटहरी-१० मा निर्माणाधीन यातायात व्यवस्था विभागको आफ्नै भवन सम्पन्न हुन लामो समय लाग्ने भएपछि विकल्प खोजिएको हो । ४१०० स्क्वायर फिट क्षेत्रफलमा रहेको १५ कोठे भवन आवश्यक परेकोले सम्बन्धित घर धनीले सिलबन्दी दरखास्त दिन बुझाउन अनुरोध गरिएको छ।

यही ज्येष्ठ १३ गते घरधनी सँगको सम्झौता बमोजिम १ महिना अगावै जानकारी गराउन भनिए बमोजिम घर खाली गरिने भन्दै कार्यालयले सूचना जारी गरेको छ । २०७६ साल असार २६ गते घरधनीले घर खाली गरिदिन कार्यालयमा निवेदन दिएका थिए। अस्थायी संरचना हटाई खाली गरिदिनुहुन वा कार्यालयलाई अन्यत्रै स्थानान्तरण गरिदिनुहुन भन्दै उनले निवेदन बुझाएका थिए।

राजमार्ग बिस्तारको क्रममा हाल कार्यालय रहेको घर नजिकै पुगेको र सेवाग्राहीलाई समस्या हुने देखिएकोले समयमै व्यवस्थापन गर्न लागिएको निमित्त कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटाले बताए ।

उनका अनुसार विगतमा पनि दुर्घटना जोखिम रहेको र क्षेत्रफल साघुरीए पछि झनै दुर्घटनाको जोखिम बढ्ने भएपछि कार्यालय सार्न खोजिएको हो । पछि हुने सम्भावित दुर्घटनाबाट बचाउनको लागी फराकिलो ठाउँको खोजी गरिएको उनको भनाई छ।

यही ज्येष्ठ ११ गते सूचना जारी भए पनि हाल सम्म एउटा पनि दरखास्त नपरेको सापकोटाले बताए । १५ दिन भित्र कुनै पनि दरखास्त परेन भने पुनः अर्को सूचना निकालिने उनले जानकारी दिए ।

gharbada-notice