धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढेको छ ।
मातृ तथा शिशु एमसीएच भवन सञ्चालनमा ल्याउने, रेफरल युनिट स्थापना गरी अस्पताल सेवामा सुधारका काम अघि बढेको छ ।
प्रतिष्ठानका निर्देशक डा. ईन्द्र लिम्बुले उनी ‘निमित्त उपकुलपति’ भएको बेला भएका प्रगति सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएका हुन । 
उनले भने ‘म निमित्त भएको बेला सुरु गरिएको प्रतिमिनेट २०० लिटर उत्पादन क्षमता रहेको ट्राइडेन्ट कम्पनीको अक्सिजन प्लान्ट मर्मतका लागि रिटेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।’ यो मर्मत भएपछि प्रतिष्ठानलाई आवश्यक अक्सिजन बाहिरी कम्पनीबाट खरिद गर्न नपर्ने उनले बताए ।
उनका अनुसार सर्वोच्च अदालत सम्म पुगेको अक्सिजन प्लान्ट आपूर्ति विवादमा सर्वोच्चले मेलमिलाप मार्फत समाधान खोज्न प्रारम्भिक आदेश दिएको छ । सोही आदेश अनुसार कम्पनीसँग मेलमिलाप गरी प्रक्रिया अघि बढाइएको हो । 
प्रतिष्ठानले नयाँ एमआरआई मेसिन गर्न विज्ञ टोलीको सुझावमा टेण्डर आव्हान गर्ने तयारी भएको छ । उनका अनुसार रेडियोलोजी विभागले तयार गरेको आवश्यकता र प्राविधिक मापदण्डका आधारमा एमआरआई मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।
प्रतिष्ठानले असार १९ गते सूचना प्रकाशित गरी छुट्टाछुट्टै आपूर्तिकर्ताहरूलाई प्राविधिक प्रस्तुतीकरण गर्न बोलाएको थियो । उनीहरूको प्रस्तुतिको मूल्याङ्कन गरी विज्ञ टोलीले अन्तिम स्पेसिफिकेसन तयार गरिरहेको छ । निर्देशक डा. लिम्बुले भने ‘स्पेसिफिकेसन तयार भएपछि टेन्डर आह्वान गरिने छ ।’
शिक्षा, स्वास्थ्य तथा गृहमन्त्रीले हालै निरीक्षण गरी शीघ्र सञ्चालन गर्न निर्देशन दिए अनुसार नयाँ एमसीएच भवन सञ्चालन गर्न आवश्यक प्रक्रिया तीव्र बनाइएको उनले बताए । लामो समयदेखि  नयाँ एमसीएच भवन सञ्चालन हुन सकेको छैन । 
यसैबिच, प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीमा केयरस्ट्रिम कम्पनीको अत्याधुनिक सीबीसीटी मेसिन जडान गरी असार १२ गतेदेखि सेवा सञ्चालनमा ल्याइएको छ । एआई प्रविधिमा आधारित उक्त प्रणालीले न्यून विकिरणमा उच्च गुणस्तरको थ्रिडी इमेजिङ उपलब्ध गराउने छ ।
सेवाग्राहीको भीड व्यवस्थापन र प्रतीक्षा समय घटाउने उद्देश्यले स्वास्थ्य बिमा, सामान्य ओपिडी तथा विशेष सेवाका दर्ता र बिलिङ काउन्टर पुनः व्यवस्थापन गरिएको निर्देशक डा.लिम्बुले बताए । स्वास्थ्य बिमातर्फ दर्ता काउन्टर ७ वटा र बिलिङ काउन्टर ६ वटा पुर्‍याइएको छ । सामान्य ओपिडीतर्फ पनि काउन्टरको सङ्ख्या बढाइएको उनले बताए । 
डा. लिम्बु निमित्त उपकुलपति भएकै अवधिमा बिरामी प्रेषण राष्ट्रिय निर्देशिका–२०८१ अनुसार असार ४ गते अस्पताल तहमा प्रेषण समन्वय समिति गठन गरी रेफरल युनिट स्थापना प्रक्रिया अघि बढाइएको छ । 
बिरामीलाई समयमै उपयुक्त स्वास्थ्य संस्थामा प्रेषण सुनिश्चित गर्न अनावश्यक रेफरल न्यूनीकरण गर्न तथा उपचार सेवाको गुणस्तर सुधार गर्न प्रेषण समन्वय समिति गठन गरिएको निर्देशक डा.लिम्बुले बताए ।
hospital-director